एजेन्सी – बुधबार राति सन् २०२२ को पहिलो एल क्लासिकोमा बार्सिलोनालाई रियल म्याड्रिडले पराजित गर्यो। स्पेनिस सुपर कपको सेमिफाइनलमा भएको खेलमा दुवै टोलीले एक अर्कालाई राम्रो टक्कर दिएका थिए।
बार्सिलोनाले बलमा रियल म्याड्रिड भन्दा राम्रो पकड बनाएपनि जित निकाल्न भने सकेन। बलमा बार्सिलोनाको ५४ प्रतिशत पकड थियो। खेलभर बार्सिलोनाको तर्फबाट कुल २० प्रहार भएका थिए। जसमा ६ प्रहार टार्गेटमा थिए। त्यस्तै रियल म्याड्रिडबाट भने मात्रै १४ प्रहार भएका थिए। तर त्यसमध्ये ८ प्रहार टार्गेटमा थिए।
निकै नै प्रतिष्पर्धात्मक भएको खेलमा बार्सिलोनाले रियललाई जित निकाल्न धेरै नै कठिन बनाएको थियो। रियलले जित निकाल्न अतिरिक्त समय सम्मै मिहिनेत गर्न परेको थियो। हारेपनि खेललाई लिएर बार्सिलोनाका प्रशिक्षक केहि सन्तुष्ट देखिए।
बार्सिलोना प्रशिक्षक जाभी हर्नान्देजले खेल र प्रभुत्वको मामलामा बार्सिलोनाले धेरै राम्रो खेलेको बताए। खेल पछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जाभीले हाल सबै भन्दा राम्रो लयमा रहेको टोली विरुद्ध आफूहरुले सन्तुलित खेल खेलेको दावी गरे।
“मलाई लाग्छ हामी वर्चस्वका हिसाबले म्याड्रिडभन्दा राम्रो थियौं। हामीले हाम्रो खेल देखायौं। हामीले धेरै जोखिमहरु उठायौं। हामीले उत्कृष्ट फर्ममा रहेको टोलीसँग राम्रो प्रतिस्पर्धा गर्यौं।”,जाभीले खेलपछि भने।
जाभीले रियल म्याड्रिड भन्दा राम्रो खेलेको दावी गरेपनि रियलका प्रशिक्षक कार्लो एन्सेलोटी भने यो मान्न तयार भएनन्। बार्सिलोनाले रियल भन्दा राम्रो खेल्यो भन्ने जाभीलाई एन्सेलोटीले को फाइनलमा पुग्यो भन्दै प्रश्न गरे।
जाभीको भनाईप्रति एन्सेलोटी पूर्णरुपमा असहमति जनाए। उनले भने,”म यसमा सहमत छैन। बार्सिलोना हामीमाथि हावी भएको होइन। हामीले पछाडी रहेर खेल्ने रणनीति बनाएका थियौं। पछाडी बसेर काउन्टर-अट्याकका लागि ठाउँ बनाउने हाम्रो रणनीति थियो।”
एन्सेलोटीको भनाई धेरै हद सम्म सत्य पनि ठहरियो। रियलले लगभग सबै गोल तिब्र गतिमा आक्रमणबाट गरेको थियो।

