बिल्वाओको सामु घुँडा टेक्न बाध्य भयो एट्लटिको म्याड्रिड, फाइनलमा रियल र बिल्वाओ भिड्ने !

एजेन्सी – साविक विजेता एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । एट्लटिको म्याड्रिडलाई २–१ ले पराजित गर्दै बिल्वाओ लगातार दोस्रो सिजन उपाधि नजिक पुगेको हो ।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलमा बिल्वाओको जितमा यारे अल्भारेज र निको विलियम्सले गोल गरे । एट्लेटिकोले एक गोल उपहार पाएको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै तीन गोल दोस्रो हाफमा सम्भव हुँदा बिल्वाओले सफलता हात पारेको हो । ६२औं मिनेटमा गोलरक्षक युनाई सिमोनको आत्मघाती गोलबाट एट्लेटिकोले सुरुवाती अग्रता लिन सफल भएको थियो । तर, एट्लेटिकोले उक्त अग्रतालाई जोगाउन सकेन ।

७७औं मिनेटमा यारे अल्भारेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले इकर मुनिएनको पासमा गोल गरे । ८१औं मिनेटमा निको विलियम्सले ड्यानी गार्सियाको पासमा गोल गर्दै बिल्वाओलाई खेलमा २–१ को अग्रता दिलाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा बिल्वाओ विजयी हुन सफल भयो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिन पुगेको थियो । जोश जिमिनेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

अब बिल्वाओले उपाधिका लागि रियल म्याड्रिडको सामना गर्नेछ । रियलले बुधबार राति बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । फाइनल आइतबार राति हुनेछ ।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८११:०४

मेस्सीको खिल्ली उडाए भाल्भर्डेले, बार्सिलोनालाई नक-आउट पन्च हाने !