लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको नक्सा भएको २ रुपैयाँको सिक्का सार्वजनिक !

३० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको परिमार्जित नक्सा भएको २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ। लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा अंकित भएको सिक्का शुक्रबारबाट चल्तीमा ल्याईएको हो।

जारी गरिएको सिक्काको अगाडी पट्टि नेपालको चुच्चे नक्सा रहेको छ भने त्यसको ठ्याक्क माथितर्फ दायाँतिर दृष्टिविहीनहरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने गरी दुईवटा थोप्ला राखिएको छ। त्यस्तै, वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेको सिक्काको माथिल्लो भागमा इंगलिसमा Rs Two र तलपट्टिको भागमा भने देवनागरीमा २ रुपैयाँ लेखिएको देख्न सकिन्छ।

त्यसैगरी, नयाँ सिक्काको पछिल्लो भागमा पनि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा नै थोप्लाहरु रहेका छन्। जसभित्र आठ थोप्ला सहितको अर्को वृत्ताकार चित्र र त्यसभित्र भने वर्गाकार आकृति रहेको छ। वर्गाकार आकृतिको बाहिरपट्टि भने चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति राखिएका छन्। जसको बीचमा जानकी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरीमा जानकी मन्दिर लेखिएको छ।

त्यस्तै, सिक्काको माथिल्लो भागमा देवनागरीमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८१५:०५

एकैदिन ५ हजार भन्दा बढी कोरोना संक्रमित थपिए, आधा भन्दा बढी उपत्यका मै देखिए !