एजेन्सी – बोरुसिया डर्टमण्डका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले आफू फुटबलमा केन्द्रित हुन चाहेको स्पष्ट पारेका छन्। बुन्डेसलिगामा फ्रेइवर्ग विरुद्ध जित निकालेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा हालाण्डले आफ्नो ट्रान्सफर भन्दा पनि फुटबललाई प्राथमिकतामा राख्ने स्पष्ट पारेका हुन्।
क्लब परिवर्तनको विषयमा विभिन्न प्रकारका चर्चा चल्दा चुप बसेका हालाण्डले पहिलो पटक मुख खोल्दै क्लबले निर्णय गर्न दबाव दिरहेको खुलासा गरे। भविष्य बारे छिटो निर्णय गर्न क्लबले दबाव दिरहेको हालाण्डको भनाई छ। क्लब प्रति रहेको सम्मानका कारण आफूले केहि नबोलेको हालाण्डले बताए।
“पछिल्ला छ महिना डर्टमण्डको सम्मानमा केहि नबोल्न खोजेको थिएँ। तर अब बोल्न पर्ने समय आएको छ। अब क्लबले मलाई निर्णय गर्न दबाब दिन थालेको छ, तर म फुटबल खेल्न चाहन्छु।”,हालाण्डले भने।
क्लबले लगातार दबाव दिरहेका कारण सक्दो छिटो निर्णय गर्न पर्ने अवस्थामा पुगेको हालाण्डले बताए। उनले भने,”उनीहरूले मलाई मेरो भविष्यको बारेमा अहिले निर्णय गर्न दबाव दिरहेका छन्। यसको मतलब मैले चाँडै निर्णय गर्नुपर्नेछ।”
हालाण्डले शुरुदेखि फुटबलमा ध्यान केन्द्रित गर्न चाहेको बताउँदै आएको दोहोर्याए। फुटबल खेल्ने भन्दा अरु कुरा आफ्नो दिमागमा नआउने हालाण्डको भनाई छ।
“मैले शुरु देखि भन्दै आएको छु कि म फुटबलमा ध्यान केन्द्रित गर्न चाहन्छु। म सबै भन्दा राम्रो केहि गर्न सक्छु भने त्यो फुटबल खेल्ने काम हो। म त्यसैमा केन्द्रित हुन चाहन्छु।”,हालाण्डले हने।

