काठमाडौं । हालै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनबाट धु्रवबहादुर प्रधान उपाध्यक्षमा निर्वाचित भए । प्रधान नेपाल प्रहरीका पूर्वप्रहरी महानिरिक्षक (आईजीपी) समेत हुन् । २०५३ सालमा तत्कालीन एमालेबाट गृहमन्त्री बनेका बामदेव गौतमले महानिरिक्षक अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेर प्रधानलाई आईजीपी बनाएका थिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
फाइदाका लागि दलसँग घुँडा टेक्ने प्रहरी प्रवृत्तिलाई प्रधानले स्वीकार गरेका थिए । तर, उनी पछिल्लो समयमा भने राप्रपामा सक्रिय राजनीति गरिरहेका छन् । राजनीति प्रवेश गर्ने पूर्वप्रहरी अधिकारीमा प्रधान मात्रै एक्लो होइनन् । अर्का पूर्वआईजीपी प्रदीपशम्शेर जबरा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा लागेका थिए । उनले सोही पार्टीबाट प्रतिनिधिसभा चुनाव लडे । यद्दपि, उनले निर्वाचनमा जित भने हात पार्न सकेनन् ।
अर्का पूर्वआईजीपी रविन्द्रप्रताप शाह त नेकपा माओवादीमा प्रवेश नै गरे । उनी पहिलो संविधानसभा चुनावमा माओवादीकै कोटाबाट समानुपातिक सभासद्सम्म बने । तर, अहिले भने उनी सक्रिय राजनीतिमा भने देखिंदैनन् । पूर्वआईजीपी मोतिलाल बोहोरा अछामबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका छन् । पूर्वआईजीपी प्रधान, जबरा, बोहोरा र शाहमात्रै होइन, प्रहरीका अन्य थुप्रै पूर्वअधिकृतहरु विभिन्न राजनीतिक दलमा प्रवेश गरेका दृष्टान्त छन् । पूर्वआईजीपी सर्वेन्द्र खनाल अहिले नयाँ पार्टी दर्ता गर्ने तरखरमा छन् ।
एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिले पनि टिकीरहेको भए उनी एमाले प्रवेश गरिसक्थे । सर्लाहीका विप्लपका कार्यकर्ता कुमार पौडेलको इन्काउन्टरको विषयलाई लिएर खनालमाथि सर्लाहीस्थित जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गरेर कारबाहीका लागि प्रहरीमा पठाइसकेको छ । पूर्वएआईजी गणेश राई बाबुराम भट्टराई नेतृत्वको तत्कालीन जनशक्ति पार्टीमा प्रवेश गरेका थिए । मापद पदार्थ सेवन (मापसे) चेकिङ गर्दाको सुरुवाती फाईल गायब बनाएर रकम हिनामिना गरेको आरोप राईले खेपेका थिए । तर, छानविन समितिले राईलाई दोषी भने देखाएन । उनी अहिले गुमनाम छन् ।
राई पछि जनशक्ति पार्टीमा सशस्त्र प्रहरी बलका पूर्वएआइजी ऋषभदेव भट्टराई पनि जनशक्ति पार्टीमा प्रवेश गरेका थिए । संगठनमा हुँदा उनलाई भ्रष्टाचारको आरोप लाग्यो । २०७५ मा विशेष अदालतले भट्टराईलाई भ्रष्टाचारी ठहर ग¥यो । सशस्त्र प्रहरीमा काम गर्दा एक करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको स्रोत देखाउन नसकेपछि उनलाई विशेष अदालतले भष्टचारी ठहर गरेको थियो । नौ महिना कैद र ७९ लाख ८७ हजार २२५ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाईएका भट्टराई पनि अहिले गुमनाम नै छन् ।
सर्वेन्द्र खनाललाई सरकारले आईजीपीमा नियुक्त गरेपछि असन्तुष्ट बनेका पूर्वडीआईजी रमेश खरेलले त अहिले नयाँ पार्टी नै निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् । उनको आफ्नो दलको नाम नेपाल सुशासन पार्टी राखेका छन् ।
पूर्वडीआईजी नवराज सिलवाल अहिले एमालेका सांसद छन् । कार्यसम्पादन मुल्यांकन किर्ते गरेको अभियोग लागेका उनी कारबाहीबाट जोगिएका थिए । सिलवाल अहिले पनि एमालेको सक्रिय राजनीतिमै छन् । सर्वेन्द्र खनाललाई सरकारले आईजीपीमा नियुक्त गरेपछि असन्तुष्ट बनेका पूर्वडीआईजी रमेश खरेलले त अहिले नयाँ पार्टी नै निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् । उनको आफ्नो दलको नाम नेपाल सुशासन पार्टी राखेका छन् ।
पदमा रहँदा राजनीतिक दलविरुद्ध खरो रुपमा उत्रने खरेलले अहिले आफै दल खोल्नुलाई भने धेरैले अनौठो रुपमा लिएका छन् । उनी सबै राजनीतिक दललाई मजैले गाली गर्छन् । तर, राजनीतिक धरालतमा भर्खरै जन्मिएको उनको दलले समग्र नेपालीको मन छुन भने धेरै समय लाग्ने देखिन्छ । पूर्वएसएसपी दीपक रञ्जित, पूर्वएसपी दिलीप बस्नेत र डीएसपी हरिहर श्रेष्ठ अहिले पनि राप्रपामा आबद्ध छन् ।
नेपाली सेनाबाट अवकाश प्राप्त उच्चअधिकृतहरु भने खुलेर कुनै दल प्रवेश नगरे पनि राजावादी निकट कार्यक्रममा सहभागी बनेको देखिन्छ । पूर्वप्रधानसेनापति रुक्मांगत कट्वाल र पूर्वसहायक रथी प्रेमसिंह बस्न्यातले राष्ट्रवादी छवी बनाउन खोजेको देखिन्छ । तर, उनीहरुको राजवादी नेताहरुसँग निकटता देखिन्छ । नेपालको राजनीतिमा पद, पैसा र शक्ति हावी हुँदा विवादित तथा फरक पृष्ठभूमिका व्यक्ति पनि विभिन्न पार्टीमा प्रवेश गर्दै आएका छन् । पूर्वसुरक्षाकर्मीहरु पनि भटाभट पार्टी प्रवेश गर्दा त्यसले राष्ट्रलाई झन घाटा हुने बताउँछन्, राजनीतिक विश्लेषकहरु । संठनमा रहँदा विवादमा परेका र भ्रष्टाचारलगायतका आरोप लागेका केही पूर्वसुरक्षाकर्मी विगतमा आफूमाथि लागेका आरोप र मुद्दाबाट जोगिने उद्देश्यले पनि राजनीतिक संरक्षणका लागि विभिन्न दलमा प्रवेश गर्ने गरेको ठम्याई विश्लेषकहरुको छ ।

