वल्र्डलिंक देखि भायानेट सम्म सबै ठग निस्किए, उच्च गतिको भनेर कछुवा गतिको इन्टरनेट !

काठमाडौं । काठमाडौं मनमैजु –४ का रामहरि शर्माले लामो समयदेखि ४० एमबीपीएस गतिको इन्टरनेट चलाए । इन्टरनेटको स्पिड नबढेपछि हैरानीमा परेका उनले गत महिना मात्रै थप पैसा तिरेर १ सय ५० एमबीपीएस गतिका इन्टरनेट चलाउँदा पनि नचलेर हैरानीमा छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

युटुब, फाइल डाउनलोड गर्दा इन्टरनेट नचलेपछि शर्माले इन्टरनेटको स्पिड टेस्ट गराउँदा १७ एमबीपीएस मात्रै देखाएपछि उनी झस्किए । इन्टरनेट कम्पनीलाई फोन लगाएर गुनासो राखे । तर, इन्टरनेट कम्पनीले केही समय छिटो बनाइदिए पनि अहिले दैनिकजसो उस्तै सुस्त गतिको नेट चलाउन पर्दा हैरानी खेपिरहेका छन् शर्मा ।

उच्च गतिको इन्टरनेटको प्याकेजको बहानामा अहिले बजारमा इन्टरनेट कम्पनीले ३० एमबीपीएसलाई १ सय ५० देखि २ सय २५ एमबीपीएस गतिको उच्च इन्टरनेट भनेर विज्ञापन गरिरहेका छन् । तर, इन्टरनेट प्रदायक कम्पनीको चालबाजी भने जहिल्यै उस्तै छ ।

ग्वार्को ललितपुरका विकास कार्कीको समस्या पनि उस्तै छ । गत महिना मात्रै उनले इन्टरनेट सुस्त भएको भन्दै एमबीबीएस बढाए तर इन्टरनेटको एमबीपीएसको हालत भने दयनीयरहेको कार्की बताउँछन् । ‘इन्टरनेट सुस्त गति भयो भनेर फोन ग-यो इन्टरनेट कम्पनीले फोन नै उठाउँदैनन्, कार्कीले भने, बल्लतल्ल फोन उठाएर समस्या समाधान भयो भन्छन् पुनः १ घण्टा पछि उही समस्या दोहोरिन्छ ।’

चौधरी ग्रुपको सीजी नेटले अहिले प्याकेजमा उच्च गतिको इन्टरनेट भनेर प्रचार गरेपछि अहिले क्लासिक नेट, वल्र्ड लिंकलगायतका इन्टरनेट प्रदायक कम्पनीले नयाँ स्किमको इन्टरनेट प्याकेजमा हाइ स्पिड इन्टरनेट ल्याएको दाबी गरिरहेका छन् ।

वल्ड लिंकले त ३० एमबीपीएसलाई विस्तार गरेर २ सय २५ एमबीपीएस र ४० एमबीपीएसलाई अपग्रेड गरेर ३ सय एमबीपीएस भएको दाबी गरिरहेको छ । तर, सेवाग्राहीले नाम मात्रैको एमबीपीएस भएको भन्दै सामाजिक सञ्जालममा आक्रोश पोखिरहेका छन् ।

२ सय ५० एमबीपीएसको पैसा लिएर ६ सय केबीपीएस इन्टरनेट स्पिड दिने वल्र्ड लिंक कम्पनी समस्याभन्दा एक/दुई दिन भनेर झुक्याएको अभिषेककुमार दासले वल्र्ड लिंक कम्पनीको फेसबुक पेजमा गुनासो पोखेका छन् । अभिषेककुमार दासको गुनासोमा वल्र्ड लिंक कम्पनीले सुधार गर्छु भनेर माफ मागे पनि समस्या जस्ताको त्यस्तै रहेको छ ।

हाल विभिन्न इन्टरनेट कम्पनीले आफ्नो इन्टरनेट क्षमता बढाएको दाबी गर्दै विज्ञापन गरिरहेका छन् । डिसहोमले १०० एमबीपीएस, सीजीले १२०, सुबिसुले १५०, भायानेटले १७५, वल्र्डलिंकले २ सय, ३ सय र ६ सय एमबीपीएस गतिका इन्टरनेट उपलब्ध गराउने भन्दै विज्ञापन गरिरहेका छन् । तर, इन्टरनेटको स्पिडको गति भने दयनीय रहेको सेवाग्राहीको गुनासो छ ।

भायानेट कम्युनिकेसनको हालत पनि उस्तै रहेको सामाजिक सञ्जाल फेसबुक पेजमा सेवाग्राहीले आक्रोश पोखेका छन् । १ सय ५० गतिको उच्च गति भनेर इन्टरनेट जोडेको घरमा आउँदा १० एमबीपीएस आइपुग्छ यो कस्तो खालको नेट हो भनेर विराज श्रेष्ठले प्रश्न गरेका छन् ।

अहिले नयाँ आएको सीजी कम्युनिकेसनको हालत पनि सन्तोषजनक नभएको सेवाग्राहीको गुनासो छ । प्रतिस्पर्धामा आएको सो इन्टरनेटबारे मणि तामाङ सीजीको फेसबुक पेजमा लेख्छन्, ‘पहिलो कुरा फोन उठ्दैन, नेट बिग्रियो भने पनि दुई÷चार दिन बनाउन नआउने समस्याले हैरान छु ।‘

प्रकाशित : आइतबार, माघ ०२, २०७८०९:४७

बाग्मती प्रदेशमा एमालेको पत्तासाफ !