एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का लियोनेल मेस्सी पूर्वक्लब बार्सिलोना फर्किने चर्चा शुरु भएको छ। गएको केहि दिन देखि मेस्सी पुनः बार्सिलोना फर्किने चर्चा शुरु भएको हो।
मेस्सीको परिवार बार्सिलोना फर्किने पक्षमा रहेको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। मेस्सीको परिवारले उनलाई बार्सिलोना फर्किन दबाव दिरहेको विभिन्न खेल मिडियाहरुको दावी छ।
यसै सिजन पिएसजी पुगेका मेस्सी पिएसजीमा घुलमिल हुन संघर्षरत छन्। मेस्सीलाई पिएसजीमा घुलमिल हुनको लागि अलि बढी समय लागिरहेको छ। पिएसजी पुगेयता मेस्सीले पहिला जस्तो खुलेर प्रदर्शन गर्न सकेका छैनन्।
फ्रेन्च लिग वानमा अहिले सम्म मेस्सीले ११ खेल खेलिसकेका छन्। जसमा उनले मात्रै १ गोल गरेका छन् भने ५ असिस्ट दिएका छन्। त्यस्तै च्याम्पियन्स लिगमा भने मेस्सीले ५ खेलमा ५ गोल गरेका छन्।
मेस्सीले बार्सिलोनामा उच्च प्रदर्शन गर्दै डेढ दशक भन्दा बढी समय बिताएका थिए। तर पिएसजीमा पुगेपछि राम्रो प्रदर्शन गर्न नसकेको भन्दै मेस्सीको आलोचना भइरहेको छ।
पेरिसमा मेस्सीको परिवारलाई असहज
बताइएअनुसार मेस्सी मात्र नभई उनको परिवार पनि पेरिसमा घुलमिल हुन सकिरहेको छैन। मेस्सीको परिवारलाई त्यहाँको वातावरणमा टिक्न गार्हो परिरहेको दावी गरिन्छ। जसकारण मेस्सीको परिवार बार्सिलोनामा फर्किने पक्षमा छ।

