एजेन्सी – युरोपियन च्याम्पियन चेल्सी प्रिमियर लिग उपाधि होडबाट लगभग-लगभग ‘आउट’ भएको छ। प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक खोस्न असमर्थ भएसँगै चेल्सी उपाधि होडबाट लगभग आउट भएको हो।
शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई रोक्न सकेन। जारी सिजनमा उच्च प्रदर्शन गरिरहेको सिटी विरुद्धको खेलमा चेल्सी १ गोलले पछि पर्यो। जससँगै चेल्सी सिटी भन्दा १३ अंकले पछि पर्यो।
ओरालो यात्रामा चेल्सी
सिजनको शुरुवातमा चेल्सीले धेरै नै राम्रो प्रदर्शन गरेको थियो। लगातार जित निकाल्दा चेल्सी केहि महिना लिगको शिर्ष स्थानमा रहेको थियो। तर पछिल्ला खेलहरुलाई हेर्ने हो भने चेल्सी ओरालो यात्रामा छ।
प्रिमियर लिगमा पाँच खेलमा चेल्सीले मात्र एक खेलमा जित निकालेको छ। १ खेलमा पराजित हुँदा चेल्सी ३ खेलमा बराबरीमा रोकिएको छ। एस्टन भिल्ला विरुद्धको खेलमा जित निकालेयता चेल्सीले जित निकाल्न सकेको छैन।
चेल्सीले सिजनका २२ खेल खेलिसकेको छ। जसमा उसले १२ जित निकाल्दा ३ खेलमा पराजित भएको छ। त्यस्तै ७ खेलमा भने चेल्सी बराबरीमा रोकिएको छ।
तेस्रो स्थानमा रहेको लिभरपुलले चेल्सी भन्दा २ कम खेलेको छ। चेल्सी लिभरपुल भन्दा मात्रै १ अंकले अगाडी छ। लिभरपुलले २ खेल खेल्न बाँकी रहेको अवस्थामा चेल्सी दोस्रोबाट तेस्रोमा झर्ने स्पष्ट छ।

