एजेन्सी – लन्डन क्लब चेल्सीलाई पछि पार्दै मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । आइतबार राति घरेलु मैदानमा ब्रेन्टफर्डलाई ३–० ले पराजित गर्दै लिभरपुल लामो समयपछि दोस्रो स्थानमा उक्लिएको हो ।
एक खेल कम खेलेको लिभरपुलले चेल्सीलाई २ अंकले पछि पार्दा शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ११ मा छोट्याएको छ ।एनफिलडमा आइतबार राति भएको खेलको ४४औं मिनेटमा फाविन्होको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले ट्रेन्ड एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गर्न सफल भएका थिए ।
६९औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले एन्ड्रिउ रोबर्टसनको पासलाई सदुपयोग गरेका थिए । ७७औं मिनेटमा ताकुमी मिनामिनोले रोबर्टाे फिर्मिनोको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरे ।
जितपछि लिभरपुलको ४५ अंक छ । चेल्सीको ४३ तथा शीर्षस्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १४औंं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा ज्याक ह्यारिसनको ह्याट्रिकमा लिड्स युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेको छ । वेस्ट ह्यामका जारोड वोवेन र पाब्लो फोर्नाल्सले गोल गरेपनि टोलीको हार टार्न सकेन । ह्यारीनले ६० मिनेटभित्र ह्याट्रिक पुरा गरेका थिए ।

