काठमाडौं । विभिन्न क्षेत्रबाट आएको सुझावलाई सम्बन्धि निकायले पटक÷पटक बेवास्ता गरेका कारण पेट्रोलियम पदार्थको बिक्रीबितरण, ओसारपसार र भण्डारणको विषय सर्वसाधारणका लागि गम्भिर चुनौतिको विषय बन्दै आएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
पेट्रोलियम पदार्थको बिक्री बितरण, ओसारपसार र भण्डारणका क्रममा विगतमा पनि थुप्रै गम्भिर दूर्घटना भइसकेका छन् । विगतमा पटकपटक गम्भिर दूर्घटना भइसके पनि पेट्रोलियम पदार्थको असुरक्षित व्यवसायबारे सम्बन्धित निकायले अझै चासो दिएको पाइँदैन । पेट्रोलियम पदार्थ ढुवानी गर्ने र पम्पमा तेल खन्याउने क्रममा विगतमा दर्जनौं दूर्घटना भएका छन् ।
समयमै अग्नि नियन्त्रक टोली पुगेका कारण ठूलो मानवीय र भौतिक क्षति हुनबाट जोगिएका घटनाहरुबाट पनि सम्बन्धित निकायले अझै पाठ सिक्न सकेको छैन । यस्ता घटनाहरु दोहोरिने क्रम रोकिएको पनि छैन् । जोखिम उत्तिकै बढ्दो छ ।
आफुखुशी घनाबस्ती र अति व्यस्त सडकमै पेट्रोल पम्प सञ्चालन गर्नबाट रोक्ने विषयमा भने सरोकारवाला निकायले खासै चासो दिएको पाइँदैन । ग्वार्कोको उज्ज्वल पेट्रोलपम्प अगाडि तेल बोक्ने ट्याङ्करमा २०७७ मंसिर २८ गते साँझ लागेको आगलागीबाट ठूलो जनधनको क्षति हुन सक्थ्यो ।
‘थोरै ढिलो जानकारी आएको भए कल्पना गर्नै नसक्ने गरी क्षति हुन सक्थ्यो,’ जुद्ध बारुण यन्त्रका तत्कालिन प्रमुख लिलाराज गाछाले भन्छन्, ‘तत्कालै रेस्पोन्स गरी टीम परिचालन गरिएकाले ठूलो दुघर्टनाबाट स्थानीयलाई जोगाउन सक्यौं ।’
गाछाकाअनुसार ट्याँकरमा करिब १२ हजार लिटर पेट्रोल थियो । संयोग नै मान्नुपर्छ, ट्याँकरको अगाडिको भागमा आगलागी फैलिँदै गर्दा अग्नि नियन्त्रकको टोलीले आगोलाई नियन्त्रणमा लिइसकेका थिए । ‘आगोको लप्काले ट्याँकरको ट्याँकीलाई टिपेको भए के हुन्थ्यो ?, सहजै अनुमान गर्न सकिन्छ,’ गाछाले भने, ‘ट्याँकीमा आगलागी भएको भए पम्पमा पनि आगलागी हुन्थ्यो र पम्पसँगै स्थानीय घना बस्तीलाई सजिलै आगोको लप्काले भेट्न सक्थ्यो । ठूलो दुघर्टना टर्यो ।’
उनी उपत्यकामा घना बस्ती र सडकमै सञ्चालन भइरहेका यस्ता विनाशकारी र ‘बमभन्दा पनि खतरनाक पेट्रोल पम्पहरुलाई अन्यत्र सार्नुपर्ने सुझाव दिन्छन् । गाछाका अनुसार राजधानीका ९० प्रतिशत पेट्रोल पम्पहरुले अतिप्रज्जवलशील पेट्रोलियम पदार्थको मापदण्ड विपरित र असुरक्षित तबरबाट व्यवसाय गर्दै आएका छन् ।
गाछाले भनेजस्तै उपत्यकामा औंलामा गन्न सकिनेबाहेक अधिकाँश पेट्रोल पम्प असुरक्षित र मापदण्ड विपरित सञ्चालनमा छन् । पेट्रोल पम्पहरुमा फराकिलो क्षेत्रफल छैन् । पेट्रोल पम्पको चारैतर्फ अग्ला पर्खाल लगाइएको छैन । अधिकाँश पेट्रोल पम्प घनाबस्तीको घरसँगै टाँसिएका छन् । सुरक्षाका अत्याधुनिक उपकरण प्रयोग गरिएको छैन । अतिव्यस्त सडकमा सञ्चालन भइरहेका पम्पहरुका कारण वरिपरीका बस्तीका साथै बाटोमा हिड्ने बटुवा र सार्वजनिक सबारी साधनसमेत जोखिममा छन् ।

