हुम्लीको पीडाः चार किलो चामल लिन पनि नागरिकता !

हुम्ला । नेपाल खाद्य संस्थानबाट सहुलियतमा बिक्रीवितरण हुँदै आएको चामल लिन हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामलका लागि नागरिकताको फोटोकपी बुझाउनुपर्ने नियम बनाइएको हो । समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट यहाँका बासिन्दाले झन्झट बेहोर्नुपरेको हो ।

तीन महिनासम्म चामल बिक्रीवितरण बन्द गरेको खाद्य लिमिटेड शाखा हुम्लाले शुक्रबारबाट पुनः बिक्रीवितरण थालेकोमा चामल मौज्दात कमी भएको भन्दै नागरिकता पेस गर्नुपर्ने उर्दी गरेको हो । चामल भने चार किलो मात्रै दिइनेछ ।

खाद्य लिमिटेड शाखा हुम्लाको यो नियमले हुम्लाका जनता आक्रोशित भएका छन् । ४÷४ घण्टा पैदल हिँडेर आउँदा पनि जम्मा चार किलो चामलका लागि नागरिकता पेस गर्नुपरेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।

नागरिकताको फोटोकपी पेस नगर्दा चामल नपाइने स्थानीयवासी गणेश बोहराले बताए । उनले भने, ‘यसअघि चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यसपटक भने नागरिकता नै अनिवार्य गरिएको छ, नागरिकताको फोटोकपी गर्न पनि १० रुपैयाँ लाग्छ । यसले गर्दा सर्वसाधारण थप मारमा परेका छन् ।’

प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित भएका छन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले तीन महिना बित्दासमेत चामल ढुवानी हुन नसकेको उनीहरूको आरोप छ ।

तीन महिनापछि बल्ल चामल वितरण गरेको भए पनि उनीहरूले एक महिनाको मात्रै चामल पाएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण चामल बिक्रीवितरण नभएको संस्थानले जनाएको छ ।

चामल पाउन लाइन बस्नुपर्ने बाध्यता छँदै छ । अनुदानमा ढुवानी भएर आएको चामल लिनका लागि आफ्नो नागरिकता दिनुपर्ने यो कस्तो नियम भन्दै स्थानीयवासी जानकी भण्डारीले गुनासो पोखिन् ।

यता प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चामल पाउने नागरिक नदोहोरिऊन् र उनीहरूले चामल पाए÷नपाएको विवरण राख्न नागरिकता अनिवार्य गरिएको बताए । चामल पाउनबाट कोही नछुटून् भन्नका लागि उनीहरूको नागरिकता माग गर्ने निर्णय भएको उनले बताए ।

यसअघिको राशन कार्डको व्यवस्थाले अनियमितता भएको गुनासा आएकाले नागरिकता अनिवार्य गरिएको उनको भनाइ थियो ।

खाद्य व्यवस्था समितिको बैठकले जन्म, मृत्यु र अति आवश्यकका लागि साताको एक दिन शुक्रबार कार्यालय खोल्ने निर्णय गरेको छ । तर, लिमिटेडले त्यसविपरीत गोदाम खोलर आफ्नो अनुकूल चामल वितरण गरिरहेको छ ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८०८:३९

बतासलाई अर्काे झट्का !