एजेन्सी – बोरुसिया डर्टमण्डका युवा स्टार एर्लिङ हालाण्ड रियल म्याड्रिड आउने चर्चा चल्न थालेको केहि समय भइसकेको छ। आउने ट्रान्सफर विन्डोमा डर्टमण्डले हालाण्डलाई बिक्री गर्ने पक्का जस्तै छ। यस्तोमा रियल म्याड्रिडले हालाण्डलाई किन्ने प्रयास गर्नेछ।
हालाण्डको ट्रान्सफरले रियल म्याड्रिड भित्रकै खेलाडीहरुको भविष्यलाई पनि असर गर्नेछ। सार्वजनिक एक रिपोर्टका अनुसार हालाण्डको रियल म्याड्रिड ट्रान्सफर भएको खण्डमा सबै भन्दा बढी असर करिम बेन्जेमाको भविष्यलाई गर्नेछ।
हालाण्ड रियल पुगे बेन्जेमा अन्यत्र लाग्ने पक्षमा रहने स्पेनिस मिडिया एल नासिनोलले जनाएको छ। हालाण्ड आएको खण्डमा बेन्जेमा रियल छाड्ने कुरा स्पष्ट रहेको एल नासिनोलको दावी छ।
सो सम्बन्धमा बेन्जेमाले रियलका अधिकारीहरुलाई समेत जानकारी गराइसकेका छन्। बेन्जेमाले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई नै भेटेर हालाण्ड आए आफूले क्लब छाड्ने जानकारी गराइसकेको दावी गरिन्छ।
एम्बाप्पे आए रियलमै बस्ने, हालाण्ड आए छाड्ने
बेन्जेमा फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे आउन् भन्ने पक्षमा रहेका छन्। एम्बाप्पे आएको खण्डमा उनी रियलमै रहनेछन्। तर हालाण्ड आएको खण्डमा भने रियल छाड्ने उनको योजना रहेको छ।
हालसालै रियलका अध्यक्षसँग बेन्जेमाको भेट भएको थियो। त्यसक्रममा उनले आफू रियलमै रहन चाहेको बताउँदै हालाण्ड आएको खण्डमा भने क्लब छाड्ने स्पष्ट पारेका छन्।

