एजेन्सी – रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले लुका मोड्रिच फेरी पनि बालोन डी’ओर जित्न सक्ने खेलाडी रहेको बताएका छन्। रियल म्याड्रिडले स्पेनिस सुपर कप जितेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा पेरेजले मोड्रिच बालोन डी’ओर जित्न योग्य रहेको बताएका हुन्।
पेरेजले मोड्रिच लोभलाग्दो फर्ममा रहेको बताए। त्यसक्रममा उनले मोड्रिच विश्वकै उत्कृष्ट खेलाडी रहेको बताउन पनि छाडेनन्। त्यसैले पेरेजले मोड्रिच बालोन डी’ओर जित्न योग्य रहेको बताए।
“मोड्रिच आफ्नो स्थानका विश्वकै उत्कृष्ट खेलाडी हुन्। उनको फर्म लोभलाग्दो छ। यो फर्मका आधारमा उनी बालोन डी’ओरका योग्य छन्।”,पेरेजले पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा भने।
मोड्रिचको उत्कृष्ट प्रदर्शन
आइतबार राति रियल म्याड्रिडले साविक विजेता एथलेटिको बिल्वाओलाई पराजित गर्दै स्पेनिस सुपर कप जित्यो। रियल २-० को गोल अन्तरले विजयी भएको थियो। बिल्वाओ विरुद्धको खेलमा रियललाई मोड्रिचले नै अग्रता दिलाएका थिए।
उनले खेलको ३८औं मिनेटमा गोल गरेका थिए। उनले रोड्रिगोले दिएको पासलाई पहिलो बार च्याप्दै गोल गरेका थिए। गोल गरेपछि पनि मोड्रिचले खेलमा प्रभाव जमाउन छाडेनन्। पूरा खेलभर उनको प्रभाव रह्यो।
ढल्कँडो उमेरका बाबजुत पनि मोड्रिच जारी सिजनमा धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। उनी रियलको मिडफिल्डलाई धेरै राम्रोसँग नियन्त्रण गरिरहेका छन्। मोड्रिच तीनै खेलाडी हुन् जसले बालोन डी’ओरमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको अधिपत्य अन्त्य गरेका थिए। पछिल्लो एक दशक भन्दा बढीको समय अन्तरमा बालोन डी’ओर जित्ने मोड्रिच एक्ला खेलाडी हुन्।

