एजेन्सी – डच मिडफिल्डर जर्जिनियो विजनाल्डम पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने पक्षमा रहेका छन्। यसै सिजन पिएसजी पुगेका उनी क्लब छाड्ने पक्षमा रहेको विभिन्न खेल मिडियाहरुले खिलासा गरेका हुन्। फ्रान्सबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुका अनुसार विजनाल्डम पिएसजी छाड्ने मनस्थितमा रहेका छन्।
विजनाल्डम प्रिमियर लिग क्लब लिभरपुलको सफल बसाई पनि यसै सिजन पिएसजी पुगेका हुन्। लिभरपुलसँग रहेको सम्झौता सकिएपछि विजनाल्डमले सम्झौता थप नगरी सित्तैमा पिएसजी जाने निर्णय गरेका थिए। त्यसबेला उनलाई क्याटलान क्लब बार्सिलोनाले भित्र्याउन चाहेपनि उनले पिएसजी रोजेका थिए।
तर समय बित्दै जाँदा उनको निर्णय गलत सावित हुँदै गएको छ। न त विजनाल्डम पिएसजीमा घुलमिल हुन सकिरहेका छन्, न त उनले पिएसजीमा मौका नै पाउन सकेका छन्। कम मौका पाउन थालेसँगै उनी पिएसजी छाड्ने तयारीमा जुटेका छन्।
हालको अवस्थामा विजनाल्डम घाइते छन्। खुट्टामा समस्या देखिएपछि उनी अहिले मैदान र प्रशिक्षणबाट टाढा छन्। पिएस्जिन श्रोतका अनुसार उनी प्रशिक्षणमा फर्किन कम्तीमा ३ साता लाग्नेछ।
विजनाल्डम आफैंले सार्वजनिक रुपमै पिएसजीमा आफू पूर्ण रुपमा सन्तुष्ट नरहेको बताइसकेका छन्। केहि महिना अगाडी उनले एक अन्तर्वार्ताका क्रममा आफू पिएसजीमा पूरा सन्तुष्ट नरहेको बताएका थिए।
प्रिमियर लिग फर्किने चाहना
प्रिमियर लिग क्लब लिभरपुलमा रहेर विभिन्न उपाधि जितिसकेका उनी पुनः प्रिमियर लिग फर्किने पक्षमा रहेको बताइन्छ। बाहिर आएका खबर अनुसार उनी यसै ट्रान्सफर विन्डोमा पिएसजी छाडेर अन्यत्र जान चाहन्छन्। विजनाल्डम माथी प्रिमियर लिग क्लब न्यू क्यासलको नजर रहेको छ।

