एजेन्सी – क्लब फुटबलमा विन्टर भन्दा समर ट्रान्सफरलाई बढी महत्वका साथ हेरिन्छ। पहिला देखि चलिआएको परिपाटीलाई हेर्ने हो भने उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडीहरुको ट्रान्सफर समर ट्रान्सफर विन्डोमा भएको छ।
पछिल्लो समर ट्रान्सफर विन्डोमा पनि त्यस्तै भयो। हाल चर्चामा रहेका धेरै स्टार फुटबलरहरुको ट्रान्सफर भए। तर सो विन्डोमा ट्रान्सफर विन्डोमा ट्रान्सफर भएका सबै खेलाडीले भने अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकेनन्। अहिले यहाँ त्यस्तै खेलाडीहरुको चर्चा हुँदैछ। समर ट्रान्सफर विन्डोमा ट्रान्सफर भएर प्रभाव जमाउन नसकेका खेलाडी निम्न छन्।
मेम्फिस डिपे
क्याटलान क्लब बार्सिलोनाले डच फरवार्ड डिपेलाई गत समर ट्रान्सफर विन्डोमा भित्र्याएको थियो। तत्कालिन प्रशिक्षक रोनाल्ड कोम्यानले डिपेलाई धेरै अपेक्षा राखेर बार्सिलोनाला ल्याउन क्लबलाई दबाव दिएका थिए। तर डिपेले अहिले सम्म पनि बार्सिलोनाले अपेक्षा गरेजस्तो प्रभाव जमाउन सकेका छैनन्। लालिगाका १६ खेल खेल्दा उनले मात्रै ८ गोल गरेका छन् भने च्याम्पियन्स लिगका ४ खेलमा २ गोल गरेका छन्। समग्रमा भन्नुपर्दा डिपे बार्सिलोनामा फ्लप जस्तै भए।
जर्जिनियो विजनाल्डम
डच मिडफिल्डर जर्जिनियो विजनाल्डम पनि समर ट्रान्सफर विन्डोमै पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका थिए। फ्री ट्रान्सफरमा पिएसजी पुगेका उनी पहिला लिभरपुलमा थिए। लिभरपुलमा रहेर प्रिमियर लिग देखि च्याम्पियन्स लिग सम्म जितेका उनी पिएसजी पुगेपछि भने बेपत्ता जस्तै भएका छन्। विजनाल्डमलाई न त शरीरले साथ दिएको छ, न त भाग्यले नै। उनी पिएसजीको पहिलो रोजाईमा समेत पर्न सकिरहेका छैनन्।
लियोनेल मेस्सी
समर ट्रान्सफर विन्डोमै पिएसजी पुगेका लियोनेल मेस्सीको हालत पनि निकै नाजुक छ। बार्सिलोनामा राज गरेका उनी पिएसजीमा राम्रोसँग प्रदर्शन गर्न सकिरहेका छैनन्। भन्ने नै हो भने मेस्सी पिएसजी पुगेपछि बाघबाट एकाएक बिरालो भएका छन्। फ्रेन्च लिग वानमा मेस्सीले अहिले सम्म ११ खेल खेलिसक्दा मात्रै १ गोल गरेका छन्। च्याम्पियन्स लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेपनि लिग वानमा मेस्सी फल्प भएका छन्।
रोमेलु लुकाकु
रोमेलु लुकाकु इन्टर मिलानका उत्कृष्ट खेलाडी थिए। उनकै प्रभावशालि प्रदर्शनमा इन्टरले ११ वर्ष पछि सिरी ए उपाधि जितेको थियो। उनको प्रभावशालि प्रदर्शन देखेरै प्रिमियर लिग क्लब चेल्सी ठूलो रकम तिर्न तयार भएको थियो। चेल्सीले लुकाकुको लागि १ सय १५ मिलियन तिरेको थियो। तर लुकाकुको पछिल्लो प्रदर्शनलाई हेर्ने हो भने यस्तो देखिन्छ कि चेल्सी लुकाकुलाई त्यत्रो रकम खर्च गरेर पछुताइरहेको छ। लुकाकुले प्रिमियर लिगका १४ खेलमा मात्रै ५ गोल गरेका छन्।
जाडोन सान्चो
गत सिजनमा सन्चोले बोरुसिया डर्टमन्डका लागि सबै प्रतियोगिताहरूमा ३८ खेलहरूमा १६ गोल गर्दै २० असिस्ट दिएका थिए। युवा अवस्थामै राम्रो खेल प्रदर्शन गरेका कारण प्रिमियर लिग क्लबले उनलाई ८५ मिलियन युरोमा किनेको थियो। तर युनाइटेड आएपनि भने उनी एकाएक फेरिएका छन्। उनी पहिला जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। प्रिमियर लिगका १७ खेल खेल्दा उनले मात्रै १ गोल गरेका छन्।

