एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले नर्वेली युवा स्टार एर्लिङ हालाण्ड भन्दा पनि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई बढी प्राथमिकता दिने भएको छ। गएको केहि वर्ष देखि उत्कृष्ट युवा स्ट्राइकर भित्र्याउने योजनामा रहेको रियलले हालाण्ड भन्दा पनि एम्बाप्पेलाई बढी प्राथमिकता दिने भएको हो।
रियलले हालाण्ड र एम्बाप्पे दुवैलाई भित्र्याउने तयारी गरिरहेको भनेर चर्चा हुने गरेको भएपनि रियलको वास्तविक योजना त्यस्तो नरहेको स्पेनबाट प्रकाशित हुने पत्रिका मुन्डो डिपोर्टिभोले जनाएको छ। डिपोर्टिभोले गरेको दावी अनुसार एम्बाप्पे भित्र्याउन सकेको खण्डमा रियल म्याड्रिडले हालाण्ड माथि नजर लगाउने छैन।
सिजनको अन्त्यमा हालाण्डको ट्रान्सफर
जर्मन क्लब बोरुसिया डर्टमण्डले हालाण्डलाई जनवरी ट्रान्सफर विन्डोमा बिक्री नगर्ने स्पष्ट पारिसकेको छ। हालाण्डलाई समर ट्रान्सफर विन्डोमा बिक्री गर्ने डर्टमण्डको योजना रहेको छ। हालाण्डका लागि विभिन्न क्लब विरुद्ध प्रतिष्पर्धा हुनेछ।
त्यस प्रतिष्पर्धामा बार्सिलोना, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन(पिएसजी), चेल्सी जस्ता क्लब हुनेछन्। तर डिपोर्टिभोको दावीलाई मान्ने हो भने रियलले भने हालाण्डका लागि बोलि लगाउने छैन।
एम्बाप्पे, भिनिसियस र बेन्जेमाको ट्रियो उतार्ने रियलको योजना
हालको अवस्थामा रियलले करिम बेन्जेमा, भिनिसियस जुनियर र किलियन एम्बाप्पेको ट्रियोलाई उतार्ने तयारी गरिएको जस्तै देखिन्छ। एम्बाप्पेले पिएसजीमा सम्झौता थप गर्न मानिरहेका छैनन्। सम्झौता थप नगरेको अवस्थामा एम्बाप्पे फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। त्यस्तोमा रियललाई आर्थिक रुपमा धेरै नै लाभ पुग्नेछ।

