एजेन्सी – क्रिस्टियानो रोनाल्डोले पोर्चुगल विश्वकप छनोटको नकआउटका लागि तयार रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रोनाल्डोले पोर्चुगल विश्वकप छनोटको नकआउटका लागि पूरा तयार रहेको बताएका हुन्।
इएसपिएन ब्राजिलका लागि स्पोर्टस्टारसँग कुराकानी गर्दै विश्वकप छनोटको नकआउट कठिन हुने भएपनि आफूहरु तयार रहेको बताए। टर्की र इटाली जस्ता कठिन टोलीहरुसँग पोर्चुगलको सामना हुने कुरामा आफू जानकारी रहेको रोनाल्डोको भनाई छ।
“हामीलाई थाहा छ हाम्रो अगाडी कठिन प्रतिष्पर्धाहरु छन्। पहिले टर्कीको सामनाबाट पार हुन सके इटालीसँग भेट हुनेछ। बाटो जति कठिन भएपनि हामी तयार छौँ। मार्च सम्म हामी पूर्णरुपमा तयार हुनेछौँ। हामी लडाई लड्नेछौँ र त्यो फुटबलका पारखीहरुका लागि उत्कृष्ट हुनेछ।”,रोनाल्डोले भने।
पोर्चुगल विश्वकपका लागि छनौट हुन नसके के होला भनेर प्रश्न गरिँदा त्यो पल धेरै दुखदायी हुने रोनाल्डोले बताए। त्यसक्रममा रोनाल्डोले फुटबल र जीवनमा कठिन पलहरु आउने उल्लेख गर्न पनि छुटाएनन्।
उनले भने,”हाम्रो प्रमुख लक्ष्य विश्वकप हो। त्यसमा पुग्न नसके त्यो अत्यन्त दुखको पल हुनेछ। फुटबल र जीवनमा हामी कठिन क्षणहरूबाट गुज्र्छौं। तर त्यसबाट उठ्नु त पक्कै पर्छ।”
के छ विश्वकपका लागि छनौट हुने पोर्चुगलको बाटो ?
पोर्चुगल र रोनाल्डोको विश्वकप यात्रा त्यति सहज छैन। सन् २०२२ मा हुने विश्वकपका लागि अब पोर्चुगलले सबै भन्दा कठिन बाटोबाट गुज्रनुपर्ने भएको छ। विश्वकप छनौटबाट सोझै कतार पुग्न असफल भएपछि प्लेअफमा पुगेको पोर्चुगलले अब युरोपियन च्याम्पियन इटालीलाई पाखा लगाउनुपर्नेछ।
समूह ड्रमा पोर्चुगल र इटाली समूह सीमा परेका छन्। पोर्चुगलले सबै भन्दा पहिला टर्कीको सामना गर्नेछ। पोर्चुगलले टर्कीलाई पराजित गर्न सकेको खण्डमा र इटालीले उत्तर म्यासेडोनियालाई हराउन समूह सीको फाइनलमा इटाली र पोर्चुगल आमने-सामने हुनेछन्।
पोर्चुगल विश्वकप छनौट अन्तर्गत सर्विया विरुद्धको खेलमा पराजित भएको थियो। खेलमा बराबरी मात्र खेलेको भएपनि पोर्चुगल विश्वकपका लागि छनौट भैसकेको हुन्थ्यो। तर अन्तिम समयमा गोल बेहोर्दा पोर्चुगल पराजित भएको थियो।
युरोपियन च्याम्पियन्सशिप जितेको इटालीलाई पाखा लगाउन पोर्चुगललाई त्यति सजिलो हुनेछैन। कतार पुग्नको लागि अब पोर्चुगलले टर्की र इटाली दुवैलाई पाखा लगाउनुपर्नेछ।
रोनाल्डो सन् २००६ देखि विश्वकपमा सहभागी हुँदै आएका छन्। २१ औं शताब्दीमा पोर्चुगलले विश्वकप छनौटका लागि प्लेअफको सहारा लिनुपरेको यो तेस्रो पटक हो। यस भन्दा अगाडी पोर्चुगलले सन् २०१० र २०१४ मा पनि प्लेअफको साहारा लिनुपरेको थियो। इटाली र टर्की मध्ये जो कोहिसँग पराजित भएपनि पोर्चुगल कतार पुग्न असफल हुनेछ।

