अलमुताइरीको राष्ट्रिय टोली छनोटमा समावेश भए ८ नयाँ खेलाडी ! को-को ? [सूची सहित]

काठमाडौं – प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसिएसविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ३५ सदस्यीय टोली घोषणा गर्ने क्रममा ८ नयाँ खेलाडीलाई समेटेका छन् । नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । टोलीले मंगलबारदेखि प्रशिक्षण सुरु गर्दैछ ।

प्रशिक्षक अलमुताइरीले लिगमा गरेको प्रदर्शनलाई आधार मान्दै गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप गुरुङ तथा फरवार्ड सुशील राईलाई पहिलो पटक टोलीमा छनोट गरेका हुन् । सन्तोष तामाङले चोट बोकेपछि प्रशिक्षक अलमुताइरीले आशिष राई र जगजित श्रेष्ठलाई टोलीमा समेटेका छन् ।

आशिष पहिलो पटक टोलीमा परेका हुन् भने जगजित पुनरागमन गर्ने प्रयासमा छन् । यस्तै डिफेन्डर देवेन्द्र तामाङ, मिडफिल्डर सुभाष गुरुङ र फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने बाटो खुलेको छ ।

चोटका कारण देवेन्द्र र विमल लामो समयदेखि राष्ट्रिय टोलीबाहिर रहेका थिए । मिडफिल्डर एरिक विष्ट पनि चोटका कारण साफ च्याम्पियनसिप गुमाएपछि टोलीमा फर्केका छन् । यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका दर्शन गुरुङ प्रारम्भिक टोलीमा रहँदा डेब्यु गर्न बाँकी दिनेश हेन्जन पनि ३४ सदस्यीय टोलीमा छन् ।

टोलीमा ५ गोलरक्षक, ६ डिफेन्डर, १७ मिडफिल्डर तथा ७ फरवार्ड रहेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित चन्द भने प्रारम्भिक टोलीमा रहेका छैनन् । साफ च्याम्पियनसिप खेलेको टोलीबाट घाइते भएका नवयुग श्रेष्ठ टोलीमा छैनन् ।

३५ सदस्यीय प्रारम्भिक टोली:

गोलरक्षक : विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, शत्रुघन चौधरी, टिकेन्द्र थापा

डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, नविन गुरुङ, सुमन अर्याल

मिडफिल्डर : आयुष घलान, आकाश बुढा मगर, एरिक विष्ट, दिनेश हेन्जन, कमल थापा, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई, आशिष राई, जगजित श्रेष्ठ

फरवार्ड : आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल, सुशील राई

प्रकाशित : सोमबार, माघ ०३, २०७८२१:१५

फिफाको दि बेस्टमा लेवान्डोस्कीले मेस्सीलाई पछि पारे !