द बेस्टमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कसलाई रोजे ? यस्तो छ सूची !

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फिफा द बेस्ट अवार्डको मतदानमा लिभरपुल तथा इजिप्टका फरवार्ड मोहमद सलाहलाई शीर्ष स्थानमा राखेका छन् ।

फिफाले वर्षेनी प्रदान गर्ने द बेस्ट अवार्डमा हरेक फिफा सदस्यबाट राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान र मिडिया प्रतिनिधिले मतदान गर्ने प्रावधान रहेको छ । यसपटक पुरुषतर्फ प्रशिक्षक अलमुताइरी र कप्तान किरण चेम्जोङले मतदान गर्दा महिलातर्फ भने प्रशिक्षक चेतन घिमिरे र कप्तान रेनुका नगरकोटेले मतदान गरे ।

पुरुषतर्फको अवार्ड पोल्याण्ड तथा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले जित्दा अर्जेन्टिनी लिओनेल मेस्सी दोस्रो तथा इजिप्टका मोहमद सलाह तेस्रो भए । महिलातर्फ बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया पुतेलासले उपाधि जित्दा अष्ट्रेलियन साम केर दोस्रो तथा बार्सिलोनाकै जेनी हर्मोसो तेस्रो भए ।

पुरुषतर्फ चेल्सी प्रशिक्षक थोमस टुचेलले उपाधि जित्दा चेल्सीकै महिला टोलीकी प्रशिक्षक एम्मा हेयसले उपाधि जितिन् । इटालीका रोबर्टो मान्सिनी र म्यानचेस्टर सिटीका पेप गुआर्डीओला शीर्ष तीनमा परे । महिलातर्फ बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस कोर्तेस र नेदरल्यान्ड्सकी सारिना विग्मनले शीर्ष तीनमा स्थान बनाए ।

पुरुष गोलरक्षक तर्फ चेल्सीका एडुआर्ड मेन्डीले इटालीका जियानलुइजी डोनारुम्मा र जर्मनीका म्यानुएल नोएरलै पछि पारे । त्यस्तै महिलातर्फ चिलीकी क्रिस्टियन एन्डलरले क्यानाडाकी स्टेफनी म्यारी लाबे र जर्मन एन क्याटरिन बर्गरलाई पछी पारिन् ।

नेपालबाट प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको मतदान यसप्रकार छ :

खेलाडी – १. मोहमद सलाह, २. लिओनेल मेस्सी, ३. जर्जिन्हो / प्रशिक्षक – १. थोमस टुचेल, २. लिओनेल स्कालोनी, ३. हान्सी फ्लिक / गोलरक्षक – १. एडुआर्ड मेन्डी, २. जियानलुइजी डोनारुम्मा, ३. एलिसन बेकर

कप्तान किरण चेम्जोङको मतदान :

खेलाडी – १. लिओनेल मेस्सी, २. क्रिस्टियानो रोनाल्डो, ३. रोबर्ट लेवान्डोस्की / प्रशिक्षक – १. रोबर्टो मान्सिनी, २. लिओनेल स्कालोनी, ३. थोमस टुचेल/ गोलरक्षक – १.जियानलुइजी डोनारुम्मा , २. एडुआर्ड मेन्डी, ३. म्यानुएल नोएर

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८०९:१२

फिफाले दियो रोनाल्डोलाई विशेष अवार्ड !