एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले अतिरिक्त उर्जाका साथ अगाडी बढ्ने प्रण गरेका छन्। फिफाबाट विशेष अवार्ड प्राप्त गरेपछि रोनाल्डोले सामाजिक संजाल मार्फत यस्तो प्रण गरेका हुन्।
फिफाले रोनाल्डोलाई पुरुषतर्फ देशबाट सर्वाधिक गोलकर्ता भएका कारण विशेष अवार्ड प्रदान गरेको थियो। रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या १ सय १५ पुर्याइसकेका छन्। त्यसैको लागि फिफाले सो अवार्ड दिएको हो।
अवार्ड प्राप्त गरेपछि रोनाल्डोले थप उर्जा र प्रेरणा मिलेको बताएका छन्। सो उर्जालाई म्यानचेस्टर युनाइटेडलाई अगाडी बढाउन र पोर्चुगललाई विश्वकपमा पुर्याउने प्रयोग गर्ने रोनाल्डोको भनाई छ। रोनाल्डोले विशेष अवार्ड प्राप्त गर्नु आफ्नो लागि सौभाग्यको रुपमा लिएका छन्।
“फिफा स्पेशल बेस्ट अवार्ड जित्नु ठूलो सम्मान र सौभाग्यको कुरा हो। फिफा जस्तो संस्थाले शीर्ष गोलकर्ताको रुपमा चिन्नु प्यारो देशको प्रतिनिधित्वमा मैले प्राप्त गरेको व्यक्तिगत उपलब्धिहरूको उच्च विन्दु हो।”,रोनाल्डोले लेखेका छन्।
अवार्ड जितेपछि अब अद्भुत कथा लेख्ने बेला आएको पनि रोनाल्डोले बताएका छन्। युनाइटेडलाई लक्ष्य तर्फ अगाडी बढाउने र पोर्चुगललाई विश्वकपमा छनौट गराएर अद्भुत कथा लेख्ने तर्फ आफू केन्द्रित हुने रोनाल्डोको भनाई छ।
रोनाल्डो सामाजिक संजालमा लेख्छन्,”यो अवार्डले उर्जा थपेको छ, म्यान युनाइटेडलाई लक्ष्य तर्फ अगाडी बढाउन र पोर्चुगललाई विश्वको पुर्याउन थप प्रेरणा मिलेको छ। हामी सबै मिलेर यो अद्भुत कथा लेख्नेछौँ।”
त्यस्तै रोनाल्डोले गएको दुई दशक सँगै खेलेका र प्रतिष्पर्धा गरेका सम्पूर्ण खेलाडीलाई पनि धन्यवाद दिएका छन्।
“विगत दुई दशक मसँगै पोर्चुगलको प्रतिनिधित्व गर्ने सबै उत्कृष्ट खेलाडीहरू र विश्वभरि मैले धेरै पटक सामना गरेका सबै अन्तर्राष्ट्रिय खेलाडीहरूलाई पनि विशेष शब्द।”,रोनाल्डोले लेखेका छन्।

