स्विट्जरल्याण्डको जुरिचमा भएको फिफा विशेष अवार्डमा क्रिष्टियानो रोनाल्डोले फिफाको विशेष अवार्ड जितेपछि हृदयस्पर्शी भाषण दिएका छन्। पोर्चुगल कप्तानलाई गत वर्ष इरानी लिजेन्ड अली दाईको १०९ गोलको रेकर्ड तोड्दै सर्वाधिक गोल गर्ने पुरुष फुटबलर बनेकोमा सोमबार सम्मानित गरिएको थियो।

रोनाल्डोको नाममा हाल ११५ अन्तर्राष्ट्रिय गोल रहेको छ र आउँदो समयमा उक्त सङ्ख्या बढ्नेमा कुनै शंका छैन। फिफा अध्यक्ष जियानी इन्फान्टिनोबाट ट्रफी प्राप्त गरेपछि बोल्दै म्यानचेस्टर युनाइटेड स्टारले आफू छिटै फुटबल जगतबाट सन्यास लिने सोचमा नरहेको बताएका छन्। “यो सपना हो। सबैभन्दा पहिले, म मेरा सहकर्मीहरूलाई धन्यवाद दिन चाहन्छु, विशेष गरी उनीहरुलाई जोसँग मैले विगत २० वर्षमा राष्ट्रिय टोलीबाट खेलेको छु। [अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने] कीर्तिमान १०९ थियो, म अहिले ६ गोल अगाडि छु। यो फिफाबाट विशेष पुरस्कार हो, जसलाई मैले धेरै सम्मान गर्ने गर्छु। यस्तो उपलब्धिमा म निकै खुसी छु। सबै समयको सर्वाधिक गोलकर्ता हुन पाउनु ठूलो कुरा हो,” ३६ वर्षीय पोर्चुगिज स्टारले भने।

उनले थपे, “मलाई अझै पनि खेलको लागि जोश छ। यो मेरो मनोरञ्जन हो र मैले पाँच वा छ वर्षको उमेरदेखि नै फुटबल खेलेको छु। मैले प्रशिक्षण गर्दा मलाई आनन्द लाग्छ। म चाँडै ३७ वर्षको हुनेछु तर म अझ फुटबल खेल्न उत्प्रेरित छु। मानिसहरूले मलाई कति वर्ष खेल्न जारी राख्छु भनेर सोध्छन् – म अझै चार वा पाँच वर्ष खेल्ने आशा गर्छु। शारीरिक रूपमा यदि तपाईंले आफ्नो शरीरको राम्रोसँग हेरचाह गर्नुभयो भने, यसले तपाईंलाई केही फिर्ता दिनेछ। म खेल्न निकै इच्छुक छ र् खेल्न जारी राख्नेछु।”

