एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सी घरेलु टोली ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा बुधबार राति भएको खेलमा चेल्सीका लागि हाकिम जियाचले गोल गर्दा घरेलु टोलीका एडाम वेवस्टेरले एक गोल फर्काए ।
खेलको २८औं मिनेटमा जियाचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । उनले एङ्गोलो कान्टेको पासमा गोल गर्न सफल भएका थिए । तर, चेल्सीले त्यो अग्रतालाई पहिलो हाफमा जोगाउन सकेन ।
६०औं मिनेटमा एडामले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलेक्सिस म्याक एलिस्टेरको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए । चेल्सीले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल निकाल्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यो बराबरीसँगै चेल्सीले दोस्रो स्थानमा उक्लने मौकासमेत गुमाउँदा उपाधि होड थप कमजोर बनेको छ । चेल्सी २३ खेलबाट ४४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
दुई खेल कम खेलेको लिभरपुल ४५ अंक जोडेर दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर सिटीको ५६ अंक छ । चेल्सी शीर्षस्थानको सिटीसँग १२ अंकले पछि छ । ब्राइटन २९ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ ।

