काठमाडौं । सरकारले दूधको मूल्य दश रुपैया बढाउने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी सङ्घ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको भन्दै मूल्यवृद्धिका लागि गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरिएको थियो । मन्त्रालयले समितिले दिएको रायसुझावसहितको प्रतिवेदनका आधारमा मूल्य समायोजन गर्न लागेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
प्रतिवेदनमा पशुलाई खुवाउने आहारा (दाना, चोक्कर, ढुटो, पिना, पराल र घाँस) को मूल्य धेरै बढेको तर दूधको मूल्य साढे दुई वर्षसम्म यथावत् रहेको हुँदा किसान घाटा खाएर दूध बेच्न बाध्य रहको उल्लेख छ । विगतमा प्रत्येक वर्ष मूल्य समायोजन हुँदैआए तापनि पछिल्लो समय साढे दुईयता दूधको मूल्य समायोजन भएको छैन । अहिले किसानले प्रतिलिटर रु ५३ मा दूध बिक्री गर्दैआएका छन् । उक्त मूल्यमा दूध बिक्री गर्दा किसानले प्रतिलिटर रु ४ घाटा व्यहोर्न पर्ने प्रतिवेदनमा उल्लेख छ । किसानले लागत मूल्य भन्दा ४ रुपैया घाटामा दूध बेच्न परेकोले ७ रुपैया किसानलाई थप्ने उल्लेख भए व्यावसायीलाई थप ३ रुपैया किन भन्नेमा भने प्रतिवेदन र सरकार दुवै मौन छन् ।
अहिले सरदर ५३ रुपैँयामा खरिद गरेको दूधको क्रिम निकालेपछि २३ रुपैया थपेर ७६ रुपैयामा उपभोक्ताले किन्छन् । नयाँ व्यवस्था अनुसार व्यापारीलाई मार्जिन ३ रुपैया थपिएर २६ पुग्छ भने किसान ७ रुपयाँ थपिदा ६० रुपैया प्रतिलिटर दूधको मूल्य पाउने छन् । किसानले गाइ भैंसीको दाना चोकरको मूल्य बढेका कारण उत्पादन लागत भन्दा ४ रुपैया घाटामा दूध विक्री गरेकोले मूल्य बढाउन परेको अध्यन प्रतिवेदनमा उल्लेख भए पनि व्यापारीको लागि ३ रुपैया किन थपिदिन परेको भन्ने कतै उल्लेख गरिएको छैन । सरकारले भने त्यही प्रतिवेदनका आधारमा दूधको मूल्य बढाउने तयारी गरेको हो ।
प्रतिवेदनले हाल कायम रहेको दूधको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गर्न सुझाव दिएको छ । अहिले दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ छ । प्रतिवेदनका आधारमा मूल्य समायोजन भएमा किसानले प्रतिलिटर रु ६० प्राप्त गर्ने छन् भने उपभोक्ताले रु ८६ मा किन्न पर्नेछ । कृषि तथा पशुपक्षी मन्त्रालय स्रोतका अनुसार केही दिन भित्रै दूधको नयाँ मूल्य तोक्ने तयारी भइरहेको छ ।
मूल्य समायोजनपछि वृद्धि हुने प्रतिलिटर रु १० मध्ये रु सात किसानलाई तथा रु तीन उद्योगीलाई प्राप्तहुनेछ । प्रतिवेदनका आधारमा नयाँ मूल्य लागू भए किसानलाई लागत खर्च कटाएर प्रतिलिटर रु तीन फाइदा हुनेछ । समितिले इलाम, झापा, सुनसरी मोरङ, सप्तरी, सर्लाही, बारा, मकवानपुर, काभ्रे, चितवन, नवलपरासी, रुपन्देही, कास्की, बाँके, सुर्खेत, कैलाली र कञ्चनपुरका दूध उत्पादक किसान र दुग्ध उद्योगीसँग छलफल र अन्तक्र्रिया गरी प्रतिवेदन तयार गरेको हो ।
दूध व्यवसायले मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा ५ प्रतिशत योगदान पु¥याउँदै आएको छ । नेपालमा वार्षिक २३ लाख एक हजार टन दूध उत्पादन पुगेको तथ्याङ्क छ । उत्पादनको ४० प्रतिशत गाई र ६० प्रतिशत भँैसीको छ । दूध कृषि उत्पादनको एक मुख्य नगदेबाली हो ।
दुग्ध व्यवसायले मुलुकका करिब ५ लाख मानिसलाई प्रत्यक्षरूपमा रोेजगारी प्रदान गरी गरिबी निवारणको उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । प्रतिवेदनमा उल्लेखित तथ्याङ्क अनुसार हाल वार्षिकरूपमा औषत रु दुइृ अर्ब बराबरको विभिन्न दुग्ध पदार्थ आयात हुँदैआएको छ । चकलेट, ल्याक्टोजीन, हर्लिक्सजस्ता अन्य दूध मिश्रण भएका खाद्य पदार्थको समेत हिसाब गर्दा वार्षिकरूपमा रु चार अर्बसम्मका दुग्ध पदार्थ आयात हुने गरेको छ ।

