एजेन्सी – फ्रेन्च विंगर उस्मान डेम्बेलेको बार्सिलोना बसाई लगभग सकिने अवस्थामा पुगेको छ। डेम्बेलेले सम्झौता थप गर्न नमानेसँगै उनको बार्सिलोना बसाई सकिने अवस्थामा पुगेको हो।
सम्झौता थप नगरेको खण्डमा बार्सिलोनाले डेम्बेलेलाई बिक्री गर्ने स्पष्ट पारिसकेको छ। यहि सिजनको अन्त्य सम्म मात्रै सम्झौता रहेका उनलाई बिक्री गर्ने पक्षमा बार्सिलोना देखिएको छ।
प्राप्त जानकारी अनुसार बार्सिलोनाले डेम्बेलेलाई जनवरी महिना भित्रै बिक्री गर्ने गरी तयारी अगाडी बढाएको छ। त्यसको लागि बार्सिलोनाले विभिन्न क्लबहरुलाई सम्पर्क गरिरहेको छ। डेम्बेलेलाई बिक्री गर्ने तयारीमा बार्सिलोना हुँदा विभिन्न क्लबहरुको ध्यान त्यसतर्फ केन्द्रित भएको छ।
फाब्रिजियो रोमानोका अनुसार केहि प्रिमियर लिग क्लबले डेम्बेलेलाई लिएर चासो देखाइसकेका छन्। डेम्बेले गएको धेरै समय देखि न्यू क्यासलको नजरमा रहेको बताइन्छ। रेलिगेसनबाट बच्नको लागि विश्व स्तरीय खेलाडीको खोजिमा रहेको क्यासल जनवरीमै भित्र्याउने पक्षमा देखिन्छ।
त्यस्तै अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि डेम्बेलेलाई भित्र्याउने पक्षमा देखिएको छ। पल पोग्बा, डोनी भान डे बेक, जेसी लिङ्गार्ड जस्ता खेलाडी देखि छुटकारा पाउने तयारीमा रहेको युनाइटेडले डेम्बेलेलाई भित्र्याउन सक्ने बेलायती मिडियाहरु बताउँछन्।
युनाइटेड मात्र नभई अन्य दुई प्रिमियर लिग क्लबहरु पनि डेम्बेलेलाई भित्र्याउने तयारीमा रहेको बताइन्छ। डेम्बेले भित्र्याउने तयारीमा रहेका अन्य दुई प्रिमियर लिग क्लब चेल्सी र लिभरपुल हुन्।
पिएसजी पनि चासो
पछिल्ला वर्षहरुमा ट्रान्सफर मार्केटमा धेरै नै सक्रिय रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को पनि डेम्बेले माथि नजर छ। डेम्बेलेले अहिले जुन पारिश्रमिक माग गरिरहेका छन्, त्यो पारिश्रमिक पिएसजीले मात्रै दिन सक्ने अवस्था छ। जस कारण डेम्बेले पिएसजी जाने सम्भावना पनि देखिन्छ।

