जित्नको लागि बार्सिलोनासँग एक उपाधि बाहेक अरु केहि पनि बाँकी रहेन !

एजेन्सी – बिहिबार राति क्याटलान क्लब बार्सिलोना महत्वपूर्ण उपाधि जित्ने अभियानबाट बाहिरियो। स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनमा बार्सिलोना एथलेटिको बिल्वाओसँग पराजित हुन पुग्यो । गत सिजनको विजेता रहेको बार्सिलोना गत सिजनको उपविजेतासँग पराजित भएको हो। कोपा डेल रेबाट बाहिरिएसँगै बार्सिलोना जारी सिजनमा उपाधि विहिन् हुने सम्भावना बढेको छ।

जनवरी महिनामा मात्रै बार्सिलोना दुई महत्वपूर्ण प्रतियोगिताबाट बाहिरिसकेको छ। जनवरीको दोस्रो हप्तामा बार्सिलोना सुपरकोपा डे एस्पानाबाट बाहिरिएको थियो। त्यसको एक हप्ता भन्दा बढी समय बित्दै गर्दा बार्सिलोना कोपा डेल रेबाट पनि बाहिरियो।

लालिगा उपाधि फुत्किसक्यो

लियोनेल मेस्सीले क्लब छाडेपछि धर्मराएको बार्सिलोनाको घरेलु लिगमा पनि हविगत नाजुक छ। हालको अवस्थामा बार्सिलोना लालिगाको छैठौं स्थानमा छ। सिजनका २० खेल खेल्दा बार्सिलोनाले मात्रै ८ खेलमा जित निकालेको छ। बार्सिलोना शिर्षस्थानमा रहेको रियल म्याड्रिड भन्दा १७ अंकले पछाडी छ।

च्याम्पियन्स लिगबाट पनि आउट

बार्सिलोना धेरै समय पछि च्याम्पियन्स लिगको समूहचरणबाट समेत बाहिरिसकेको छ। च्याम्पियन्स लिग समूहचरणका ६ खेल मध्ये ३ खेलमा पराजित भएसँगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको हो।

बार्सिलोनाको अन्तिम आशा भनेको युरोपा लिग मात्रै हो। च्याम्पियन्स लिगबाट बार्सिलोना युरोपा लिगमा पुगेको छ। बार्सिलोना सन् २००३-४ को सिजन यता युरोपा लिगमा पुग्न परेको थिएन।

युरोपा लिग जित्न पनि बार्सिलोनाको लागि त्यति सहज छैन। युरोपा लिगमा अगाडी बढ्न बार्सिलोनाले नापोलीको सामना गर्नुपर्नेछ। दुई लेगमा हुने खलमा नापोलीलाई पराजित गरे मात्रै बार्सिलोना युरोपा लिगको प्लेअफबाट अगाडी बढ्नेछ।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७८२०:२९

शिर्ष चारको वेष्ट ह्यामलाई युनाइटेडले पाखा लगाउन सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?