एजेन्सी – प्रिमियर लिगको शिर्ष चार समीकरणमा महत्वपूर्ण सावित हुन सक्ने खेलमा आज म्यानचेस्टर युनाइटेड र वेष्ट ह्यामले एक अर्काको सामना गर्दैछन्। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडले वेष्ट ह्यामको सामना गर्न लागेको हो।
आज हुने खेल दुवै टीमका लागि महत्वपूर्ण हुनेछ। शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुने योजना सहित अगाडी बढिरहेका यी दुई टोली आज जित्ने पक्षमा हुनेछन्।
वेष्ट ह्याम विरुद्धको खेलमा जित निकाल्न सके मात्रै युनाइटेड शिर्ष चारमा अटाउने सम्भावना बलियो हुनेछ। त्यस्तै हाल शिर्ष चारमा रहेको वेष्ट ह्याम पनि त्यहाँ टिकिराख्न जित्ने प्रयासमा हुनेछ।
युनाइटेडले पछिल्लो खेलमा ब्रेनफोर्ड विरुद्ध ३-१ को जित दर्ता गरेको थियो। सो खेल पश्चात युनाइटेड ३५ अंक सहित सातौँ स्थानमा छ। जारी सिजनमा युनाइटेडले २१ खेल खेलिसकेको छ। जसमा उसले १० खेलमा जित निकाल्दा ६ खेलमा हार बेहोरेको छ। त्यस्तै ५ खेलमा भने बराबरीमा रोकिएको छ।
त्यस्तै वेष्ट ह्यामले भने जारी सिजनमा युनाइटेड भन्दा १ खेल बढी खेल्दा ३७ अंक बनाएको छ। २२ खेल मध्ये ११ खेलमा जित निकाल्दा ७ खेलमा हार बेहोरेको छ। त्यस्तै ४ खेलमा भने उसले बराबरी खेलेको छ। प्रिमियर लिगको जारी सिजनमा युनाइटेड र वेष्ट ह्याम बीच गत सेप्टेम्बरमा भेट भएको थियो। सो खेलमा युनाइटेड २-१ ले विजयी भएको थियो।
खेल कुन च्यानलमा हेर्ने ?
युनाइटेड र वेष्ट ह्याम बीचको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा नेपाली समय अनुसार रातको ८ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

