एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले ओसमान डेम्बेलेले क्लबसँगको सम्झौता नविकरणका विषयमा अन्तिम निर्णय लिनुपर्ने समय आएको बताएका छन् । डेम्बेलेको बार्सिलोनासँगको सम्झौता अर्को समरमा सकिदैछ ।
बार्सिलोनाका प्रशिक्षकले डेम्बेलेसँग दुई वटा विकल्प रहेको बताएका छन् । जसमा कि त सम्झौता नविकरण वा जनवरीको सरुवा बजार बन्द हुनुअघि क्लब छाड्नुपर्ने बताएका छन् ।
‘म कसैलाई अनादर गर्न चाहन्न’, जाभीले भनेका छन्, ‘प्रशिक्षकका रुपमा म प्रष्ट छु । कि उनले सम्झौता नविकरण गर्ने यात अर्को क्लब खोज्ने । अहिलेको अवस्था त्यति सहज छैन । तर क्लबको इच्छा ठूलो छ ।’
जाभीले क्लब कठिन अवस्थामा रहेको पनि बताएका छन् । ‘यदि उनले नविकरण गर्दैनन् भने क्लबले समाधान खोज्नुपर्ने हुन्छ । यहि अवस्थामा रहन सकिन्न,’ उनले भने, ‘हामीले लामो समय प्रतीक्षा गर्यौं । हामीले उनका एजेन्टसँग ५ महिनादेखि कुरा गरिरहेका छौं । अब हामी कुर्न सक्दैछौं । हामीले उनलाई भनिसकेका छौं । यदि बस्न चाहन्छौं भने सम्झौता नविकरण गर ।’
डेम्बेले पछिल्लो खेलमा बार्सिलोनाको टोलीमा सामेल थिएनन् । तर उनले क्लबको प्रशिक्षणमा भने सहभागिता जनाइरहेका छन् । क्लबले सम्झौता नविकरण नगरे उनलाई मैदानमा उतार्ने सम्भावना न्यून छ ।
डेम्बेले सन् २०१७ मा १ सय ४० युरोमा बार्सिलोना आएका थिए । जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट आएयता उनले क्याटलान क्लबका लागि १ सय २९ खेलमा ३१ गोल गरेका छन् ।