एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ राङनिकले ब्रेन्टफर्ड विरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोलाई मैदानबाट फिर्ता बोलाए। ब्रेन्टफर्ड विरुद्ध गोल गर्न नसकेपछि राङनिकले निर्धारित समयको खेल सकिन २० मिनेट बाँकी रहँदा फिर्ता बोलाएपछि रोनाल्डो रिसाउनु रिसाए।
मैदान छाडेर बेञ्चमा आउने समयमा रोनाल्डोले राङनिकसँग असन्तुष्टि समेत पोखेका थिए। रोनाल्डो त्यतिमा मात्र रोकिएका थिएनन्। बेञ्चमा पुगेपछि पनि उनले ज्याकेट फालेर बारम्बार कराएका थिए। रोनाल्डोको उक्त हर्कत सबै राङनिक प्रति लक्षित थियो।
राङनिकका अनुसार रोनाल्डोले त्यसबेला युवा खेलाडीलाई सब्सिच्युट किन नगरेको भन्दै प्रश्न गरेका थिए। वेष्ट ह्याम विरुद्धको खेल अगाडी पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिनेक्रममा राङनिकले रोनाल्डोले के भनेका थिए भन्नेबारे प्रकाश पारेका हुन्।
रोनाल्डो एक उत्कृष्ट गोल स्कोरर भएपनि फुटबल प्रशिक्षकले अवस्थाको मूल्यांकन गरेर सहि समयमा सहि निर्णय लिन सक्नु पर्ने बताए। राङनिकका अनुसार रोनाल्डोले युवा खेलाडी मध्ये कसैलाई फिर्ता नबोलाएको भन्दै प्रश्न गरेका थिए।
राङनिकले भने,”युवा खेलाडीहरू मध्ये एकलाई फिर्ता नबोलाएर किन मलाई फिर्ता बोलाएको भन्दा उनी प्रश्न गरिरहेका थिए। तर त्यसको जवाफ पाँच मिनेट पछि आयो, जब युवा खेलाडीले गोल गरे।”
त्यस्तै राङनिकले रोनाल्डोले पनि गोल गर्न सक्ने कुरालाई नकारेनन्। उनले भने,”सायद क्रिस्टियानोले पनि त्यो गोल गर्न सक्थे होला। तर ‘सायद’को भर परेर त भएन। सहि समयमा सहि निर्णय त लिनै पर्छ।”

