एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले क्लब छाडेपछि बार्सिलोना अहिले धेरै नै नाजुक अवस्थामा छ। बार्सिलोना एक पछि अर्को प्रतियोगिताबाट बाहिरिरहेको छ। मेस्सीको अभाव बार्सिलोनाको टीममा स्पष्टसँग देखापरेको छ।
मेस्सी गएपछि एक भरपर्दो गोल गर्ने क्षमता भएका खेलाडी नहुँदा बार्सिलोनाको यो हविगत भएको हो। यदि मेस्सी गएपछि पनि बार्सिलोनाले भरपर्दो स्ट्राइकर भित्र्याएको हुन्थ्यो भने बार्सिलोनाको यो हालत हुँदैनथ्यो।
अहिले यस लेखमा हामी त्यस्ता केहि खेलाडीका बारेमा चर्चा गर्दैछौ, जसलाई मेस्सीको स्थानमा ल्याएको भए अहिलेको भन्दा राम्रो अवस्थामा बार्सिलोना हुन सक्थ्यो।
साडियो माने
माने लिभरपुल धेरै महत्वपूर्ण र सफल खेलाडी हुन्। लिभरपुलको पछिल्ला सफलताहरुमा मानेको धेरै हद सम्म योगदान छ। जारी सिजनमा पनि उनी धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। लिभरपुलका लागि २६ खेल खेल्दा उनले १० गोल गरिसकेका छन्। आवश्यक परेको खण्डमा र क्लबको योजनाको केन्द्रमा पर्न सके थप बढी गोल गर्न सक्ने उनको क्षमता छ। यदि बार्सिलोनाले मानेलाई भित्र्याएको भए अहिले अवस्था फरक हुन्थ्यो।
लाउटारो मार्टिनेज
बार्सिलोनाले कुनै एक समयमा लाउटारो मार्टिनेजलाई भित्र्याउने प्रयास गरेको थियो। तर सो समयमा बार्सिलोनाको प्रयास सफल हुन सकेको थिएन। त्यसपछि बार्सिलोनाले मार्टिनेजलाई भित्र्याउने प्रयास कहिले पनि गरेन। गएको केहि सिजन देखि उनी इन्टर मिलानका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सिरी ‘ए’का १९ खेल खेल्दा उनले ११ गोल गरिसकेका छन्। बलमा राम्रो नियन्त्रण राख्ने र उत्कृष्ट गोल गर्न सक्ने क्षमता भएका मार्टिनेज बार्सिलोनामा हुन्थे भने सायद बार्सिलोनाको अवस्था सायद यस्तो हुँदैनथ्यो होला।
नेयमार
नेयमारले करियरकै उत्कृष्ट फुटबल बार्सिलोनामा हुँदा खेलेका थिए। पेरिस सेन्ट जर्मेन(पिएसजी) गएयता उनले सोहि स्तरको खेल प्रदर्शन गर्न सकेका छैनन्। जसकारण कुनै एक समयमा उनी बार्सिलोना फिर्ता हुन आतुर थिए। त्यसबेला बार्सिलोनाले नेयमारलाई फिर्ता ल्याउने प्रयास गरेपछि असफल भएको थियो। तर पछि बार्सिलोनाले थप प्रयास गरेन। तर मेस्सीले छाड्दा बार्सिलोनाको जुन हालत भएको छ, नेयमार क्लबमा हुन्थे भने त्यस्तो अवस्था हुने कमै सम्भावना रहन्थ्यो।
एर्लिङ हालाण्ड
बार्सिलोना अहिले नर्वेली युवा स्टार हालाण्डलाई भित्र्याउने अभियानमा छ। आर्थिक संकटका बाबजुत हालाण्डलाई भित्र्याउने बार्सिलोनाको योजना छ। विश्वकै उत्कृष्ट युवा स्ट्राइकरको रुपमा रहेका हालाण्डलाई बार्सिलोनाले पहिला नै भित्र्याउने प्रयास गर्नुपर्थ्यो। जारी सिजनमा मात्रै हालाण्डले १९ खेलमा २२ गोल गरिसकेका छन्। हालाण्ड जस्तो गोलस्कोरीङ मेसिन क्लबमा हुन्थे भने बार्सिलोनाको अवस्था अहिले फरक हुन्थ्यो।
मोहम्मद सलाह
अहिलेको अवस्थामा सलाह जतिको उत्कृष्ट लयमा सायदै कुनै खेलाडी होलान्। प्रिमियर लिग क्लब लिभरपुलका लागि उनी जुन स्तरको खेल प्रदर्शन गरिरहेका छन्, त्यसले सबैलाई चकित बनाइदिएको छ। लिभरपुलका लागि एक होइन चार-पाँच सिजन देखि उनी यस्तै प्रदर्शन गर्दै आइरहेका छन्। मेस्सी जस्तै खेल शैली भएका सलाह बार्सिलोनाका लागि सबै भन्दा राम्रो विकल्प हुन सक्थे। यदि उनी बार्सिलोनामा हुन्थे भने बार्सिलोना पक्कै पनि लालिगा देखि च्याम्पियन्स लिग सम्मका उपाधिको लागि प्रतिष्पर्धा गरिरहेको हुन्थ्यो।