एजेन्सी – सन् २०१७ मा एएस रोमाबाट लिभरपुल आएयता मोहम्मद सलाह छुट्टै दुनियामा छन्। लिभरपुल आएपछि उनी उच्च स्तरको फुटबल खेलिरहेका छन्। सलाहले लिभरपुल आएको पहिलो वर्ष नै तहल्का मच्चाएका थिए। पहिलो सिजनमै उनले प्रिमियर लिगमा ३२ गोल गरेका थिए। प्रिमियर लिगको एक सिजनमा कुनै पनि खेलाडीले गरेको सो गोल नै सर्वाधिक हो।
सन् २०१८-१९ को सिजनमा लिभरपुलले च्याम्पियन्स लिग जित्दा होस् अथवा सन् २०१९-२० को सिजनमा लिभरपुल रिमियर लिग च्याम्पियन्स बन्दा, सलाहको भूमिका धेरै नै महत्वपूर्ण रह्यो। गत सिजनमा केहि फितलो प्रदर्शन गरेपनि सलाह जारी सिजन छुट्टै लयमा देखिएका छन्। भन्ने नै हो भने उनी फुटबल करियरकै उत्कृष्ट फर्ममा छन् भने उनी जति उत्कृष्ट लयमा सायदै विश्वका अन्य खेलाडी होलान्।
सलाह उत्कृष्ट लयमा देखिएसँगै उनी सन् २०२२ को बालोन डी’ओरको मुख्य दाबेदारको रुपमा देखिएका छन्। समय धेरै बाँकी रहँदै उनले नै बालोन डी’ओर जित्छन् भनेर ठोकुवा गर्न त हतार होला, तर असम्भव भने देखिँदैन।
बालोन डी’ओर जित्नको लागि सलाहले हालको लयलाई यस वर्षभरी कायमै राख्नुपर्नेछ। सलाह यति बेला अफ्रिकन कप अफ नेसन्स प्रतियोगितामा इजिप्टको प्रतिनिधित्व गरिरहेका छन्। इजिप्ट अन्तिम १६मा प्रवेश गरिसकेको छ। अन्तिम १६ मा इजिप्टले आइभरी कोस्टको सामना गर्नेछ।
सलाहले आइभरी कोस्टलाई पाखा लगाएर अगाडी बढ्न महत्वपूर्ण भूमिका निभाउनुपर्ने हुन्छ। अगाडी बढ्दै फाइनल सम्मको यात्रा तय गरेको खण्डमा सलाह बालोन डी’ओरको बलियो दाबेदारको रुपमा उभिनेछन्। तर यो त्यति सहज भने छैन।
त्यस्तै सलाहका अगाडी इजिप्टलाई विश्वकपमा पुर्याउने चुनौती पनि छ। सन् २०१८ सलाहले नै इजिप्टलाई विश्वकप पुर्याएका थिए। यसपटक पनि सो जिम्मेवारी उनको काँधमा छ। त्यसको लागि उनले लिभरपुलका सहकर्मी साडियो माने सम्मेलित सनेगललाई पाखा लगाउनुपर्नेछ। यदि सलाहले इजिप्टलाई विश्वकपमा पुर्याउँछन् भने उनी थप सम्मानित हुनेछन्।
यति मात्र होइन सलाहले लिभरपुलका लागि पनि उत्कृष्ट खेल्नुपर्नेछ। लिभरपुल प्रिमियर लिग उपाधि दौडका साथ-साथै च्याम्पियन्स लिगको उपाधि दौडमा पनि छन्। सलाह उत्कृष्ट प्रदर्शन गरेर लिभरपुललाई यी दुई मध्ये कुनै उपाधि दिलाउन सक्छन् भने पनि उनले बालोन डी’ओर २०२२ को हकदार हुनेछन्। सलाहले प्रिमियर लिग गोल्डेन बुट जितेर पनि आफ्नो प्रोफाइललाई बलियो बनाउन सक्छन्।

