एजेन्सी – एसि मिलानका स्टार स्ट्राइकर ज्लाटन इभ्राहिमोभिचले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई रियल म्याड्रिड जान सुझाव दिएको स्पष्ट पारेका छन्। यस अगाडी नै सो सम्बन्धमा बोलिसकेका ज्लाटनले एकपटक पुनः आफूले एम्बाप्पेलाई रियल जान सुझाव दिएको स्विकार गरेका हुन्।
एक मिडियासँग कुराकानी गर्नेक्रममा ज्लाटनले एक समयमा एम्बाप्पेले आफूसँग कहाँ जाँदा ठीक होला भनेर प्रश्न गरेको र सो बेला स्पष्टसँग रियल जान सुझाव दिएको बताए।
“यो सत्य हो कि एक दिन एम्बाप्पेले मलाई सोधेका थिए। त्यसबेला मैले म तिम्रो ठाउँमा भएको भए रियल जान्थें भनेर जवाफ दिएको थिएँ।”,एक अन्तर्वार्ताका क्रममा ज्लाटनले भने।
ज्लाटनले फरक-फरक देशमा फरक-फरक टीमबाट खेल्दा धेरै कुराहरु सिक्न पाइने कुरा पनि बताए। फरक-फरक टीम र फरक खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो खेल निखारिने ज्लाटनको भनाई छ।
उनले भने,”मैले विभिन्न टोलीहरू, विभिन्न देशहरू, विभिन्न फुटबलरहरूसँग खेल्ने मौका पाएँ र त मैले धेरै कुरा सिकें र अगाडी बढे। घरेलु वातावरणमा खेल्न धेरै सहज हुन्छ, तर बाहिर खेल्ने हो भने नयाँ कुरा धेरै सिकिन्छ। घर देखि टाढा जानु एउटा साहसिक कार्य हो।”
यस अगाडी पनि ज्लाटनले एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्न सुझाव दिएको स्विकार गरिसकका छन्। केहि महिना अगाडी एक अन्तर्वार्ताका क्रममा एम्बाप्पेलाई तपाईले पिएसजी छाड्न सुझाव दिनुभएको कुरा सत्य हो ? भनेर प्रश्न गरिँदा इभ्राहिमोभिचले सहजै स्विकार गरका थिए। स्मरण रहोस् ज्लाटनले पिएसजीका लागि खेलेपनि रियल म्याड्रिडका लागि अहिले सम्म खेलेका छैनन्।
उनले भनेका थिए,”हो, यो साँचो हो। एमबाप्पेलाई रियल म्याड्रिडको जस्तै थप संरचित वातावरण ठिक हुन्छ। तर यो पनि सत्य हो कि मैले पिएसजीका अध्यक्षलाई नबेच्न पनि सुझाव दिएको थिएँ।”

