भायानेटमा गर्ने पाँचजनाको अनौठो धन्दा, प्रहरीलाई समेत यसरी दिन्थे चक्मा !

काठमाडौँ – प्रहरीले नेपाल टेलिकमको तार चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। पोलहरुमा राखिएका नेपाल टेलिकमको तार चोरी गर्दै आएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बझाङको बुंगल नगरपालिका ७ घर भई हाल काठमाडौंको गैरीधारा बस्ने २३ वर्षीय प्रेमबहादुर बोहरा, कैलालीको घोडाघोडी नगरपालिका २ घर भई हाल सुकेधारा बस्ने २५ वर्षीय नमेश बुढा, कैलालीको टीकापुर नगरपालिका १ घर भई हाल बानेश्वर बस्ने २४ वर्षीय गोविन्द साउँद, गोरखाको सिराञ्चोक गाउँपालिका १ घर भई हाल सुकेधारा बस्ने १८ वर्षीय राज घले र काभ्रे बनेपा नगरपालिका १२ घर भई हाल नयाँ बजार बस्ने ३० वर्षीय प्रवीन कार्की रहेका छन्।

पक्राउ परेका उनीहरुले हात्ती गाडीको अगाडि ‘दुरसञ्चार इन्टरनेट सेवा’ लेखिएको बोर्ड राखेर हिड्ने गरेका थिए। त्यसरी हिड्दा प्रहरीले शंका नगर्ने सोचेर उनीहरुले तार चोर्ने धन्दा चलाएका थिए।

काठमाडौं तारकेश्वर नगरपालिका–६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश न.३ –०१–०२३ च.४३०१ नम्बरको गाडी जंगलतर्फ गइरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त गाडीमा टेलिकमको तार गुजुल्टो फेला पारेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।

प्रहरीले प्रदेश नम्बर ३–०१–०२३ च ४३०१ नम्बरको दूरसञ्चार इन्टरनेट सेवा लेखिएको प्लेट नम्बरको हात्ती गाडी एक थान, तार काट्न प्रयोग गरिने विभिन्न औजारहरु, ५० पेयर (एउटा तारमा ५० वटा लाइन जडान गर्न मिल्ने) को कालो टेलिफोन तार १४ मिटर, १०० पेयर (एउटा तारमा १०० वटा लाइज जडान गर्न मिल्ने) कालो टेलिफानेको तार १०० मिटर बरबाद गरेको छ। पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका उनीहरु भायानेटका कर्मचारी रहेको समेत बताइएको छ।

प्रकाशित : सोमबार, माघ १०, २०७८१५:३२

भक्तपुरमै सिटामोलको शर्टेज !