ठाकुर-महतो बोलचाल बन्द, लोसपा दुई फ्याक हुने अवस्थामा !

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको छ । अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता महतो पार्टी कार्यालय जान पनि छाडेका छन् ।

‘महन्थजी र राजेन्द्रजीको बीचमा बोलचालसमेत बन्द भएको अवस्था छ । राजेन्द्रजी त पार्टी कार्यालयमा समेत आउन छाडेको छन् । महिनौं बितिसक्दा पनि राजेन्द्रजीलाई पार्टी कार्यालयमा देखिएको छैन, पार्टी बैठक नबसेको पनि लामै समय भयो, यसले सबैलाई निराश बनाएको छ,’ जसपा स्रोतले भन्यो । अध्यक्ष ठाकुरले पार्टीमा छलफल नै नगरी जिम्मेवारी बाँड्न थालेपछि पार्टी पार्टीका रूपमा अघि नबढेको एक असन्तुष्ट नेताले बताए ।

अध्यक्ष ठाकुरले पार्टीको प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष नियुक्त गर्नुका साथै विभिन्न जिल्लामा अध्यक्ष तोक्न थालेपछि विवाद बढेको छ । प्रदेश २ का पूर्वमन्त्री समेत रहेका सोनल प्रदेश सांसद तथा लोसपा कार्यकारिणी समितिका सदस्यसमेत हुन् । उनी तत्कालीन तमलोपा ठाकुर समूहका नेता हुन् ।

यस्तै, अध्यक्ष ठाकुरले विभिन्न जिल्लामा अध्यक्ष नियुक्त गरेका छन् । बारामा नवलकिशोर सिंह, पर्सामा पुरुषोत्तम झा, रौतहटमा लिला साह, सर्लाहीमा रामप्रसाद यादव, महोत्तरीमा रामबाबु साहलाई ठाकुरले अध्यक्ष नियुक्त गरेका छन् ।

यसैगरी धनुषामा प्रमेश्वर साह, सिराहामा रामदयाल यादव, सप्तरीमा सुनिलकुमार झा, कपिलवस्तुमा कैलाश अग्रहरी र मोरङमा काविर अलीलाई जिल्ला अध्यक्ष नियुक्त गरेका छन्् ।

बाराका सिंह, पर्साका झा, धनुषाका साह, सर्लाहीका यादव र मोरङका अली ठाकुर निकट नेता हुन् । यी अध्यक्ष ठाकुर अध्यक्ष रहेको तत्कालीन तमलोपा समूहका हुन् । यस्तै महोत्तरीका साह, सिराहामन यादव लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी निकट हुन् । यी अध्यक्षहरू भण्डारी अध्यक्ष रहेको तत्कालीन रामसपा समूहका हुन् ।

प्रकाशित : मङ्गलबार, माघ ११, २०७८०९:३३

चेपुवामा देउवा, वैशाखमै स्थानीय निर्वाचन गर्न दबाब