काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण १२ हजार आठजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २५ हजार ९०९ को परीक्षण गर्दा १२ हजार आठजनामा सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ । पछिल्लो समय तीन हजार ४० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख २७ हजार २७९ पुगेको छ । निको हुने दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आठको निधन
विगत २४ घण्टामा आज आठ जनाको सङ्क्रमणका कारण निधन भएको छ । अहिलेसम्म ११ हजार ६६७ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ ।
यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् ।
नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ८७ हजार ११७, संस्थागत आइसोलेसनमा एक हजार ८१७, आइसियुमा २४५ र भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ ।
दुई लाखभन्दा बढीले खोप लगाए
विगत २४ घण्टामा आज दुई लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६३ लाख ३३ हजार ९३७ र पूर्ण मात्रा एक करोड ३१ लाख छ हजार ७२६ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख २३ हजार ९४४ मात्रा लगाइएको छ ।