राष्ट्रिय सभा निर्वाचन: एमाले एक्लै भिड्दै, गठबन्धन प्यानल बनाएर !

काठमाडौं । २० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुने १९ पदमा पदपूर्तिका लागि सातै प्रदेशमा आज बुधबार मतदान हुँदै छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि मतदान हुन लागेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा भएको भन्दै बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान गर्नेगरी तयारी गरिएको जनाएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको र सात प्रदेशमा आठ मतदान र १४ केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको जानकारी दिए ।

‘राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको छ, सात प्रदेशमा गरी आठ मतदान स्थलमा १४ मतदान केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ, कोरोना महामारीलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्दै निर्वाचन सम्पन्न हुनेछ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

२० फागुनबाट नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा प्रदेश सभा सदस्यहरू र स्थानीय तहका प्रमुख-उपप्रमुख मात्र मतदाताका रूपमा रहन्छन् । स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता कायम भएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

पाँच दलको गठबन्धन, एमाले एक्लै
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेको तर्फबाट रिक्त हुने सिटमा समेत भागबन्डा गरेका हुन् । यस्तै, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार एक्लै अघि सारेको छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये आठ पद एमालेका तर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ ।

निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो ।

आयोगका अनुसार निर्वाचनमा जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र)बाट पाँच जना, नेकपा (एकीकृत समाजवादी)बाट पाँच जना, जनता समाजवादी पार्टी, नेपालबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाको उम्मेदवार बनेका छन् ।

प्रकाशित : बुधबार, माघ १२, २०७८०८:०४

शान्ति सुरक्षामा अहोरात्र खटिने प्रहरीको यो दुख कसले बुझ्ने ?