एजेन्सी – बार्सिलोनाका पूर्व विङ्गर लोबो कारास्कोले लियोनेल मेस्सी सोचे भन्दा छिटो बार्सिलोना फिर्ता हुने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कारास्कोले अपेक्षा गरिए भन्दा छिटो मेस्सी बार्सिलोना फर्किने बताएका हुन्।
कारास्कोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा सोचेजस्तो प्रदर्शन गर्न नसकिरहेका मेस्सी छिट्टै बार्सिलोना फिर्ता हुन सक्ने बताए। मेस्सीको बार्सिलोना फिर्ती केहि जटिल देखिएपनि असम्भव भने नरहेको मेस्सीको भनाई छ।
“मैले मेस्सीको बार्सिलोनामा फर्कने सम्बन्धमा महत्त्वपूर्ण संकेतहरू देखेको छु र यो अपेक्षा गरे भन्दा चाँडो हुन सक्छ। सोचेजस्तो परिणाम प्राप्त नभए उनी छिट्टै बार्सिलोना फिर्ता हुनेछन्।”,मेस्सी फिर्ता हुन सक्ने सम्भावनाहरु बारे चर्चा गर्दै कारास्कोले भने।
एल चिरिन्गुइटोका लागि दिएको अन्तर्वार्ताका क्रममा कारास्कोले च्याम्पियन्स लिग हातबाट फुत्किएको खण्डमा मेस्सी बार्सिलोना फिर्ता हुन सक्ने बताए। मेस्सी बार्सिलोनामा जस्तो सन्तुष्ट र खुशी पिएसजीमा हुन नसकेको कारास्कोको बुझाई छ।
उनले भने,”विशेष गरी च्याम्पियन्स लिगमा सोचेजस्तो नतिजा आएन भने उनले पिएसजीबाट बहिर्गमनको माग गर्न सक्छन्। अवस्था कठिन छ तर उनको फिर्ती सम्भव छ। मेस्सी पेरिसमा त्यति खुसी छैनन् जति बार्सिलोनामा थिए।”

