मेस्सीलाई कोरोनाले अलि बढी नै गलाएको खुलासा !

एजेन्सी – अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले लियोनेल मेस्सीलाई कोरोना भाइरसको संक्रमणले धेरै नै असर गरेको खुलासा गरेका छन्। विश्वकप छनौटका बाँकि दुई खेल खेल्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा स्कालोनीले मेस्सीलाई कोरोना भाइरसको संक्रमणले अलि बढी नै असर गरेको बताएका हुन्।

अर्जेन्टिनाले विश्वकप छनोटको दुई खेलको छनौट गरेको खेलाडीको सूचीमा लियोनेल मेस्सीको नाम छैन। सन् २०२१ को अन्तिममा कोरोना भाइरसको संक्रमण भएपछि आराम गरेर फ्रान्स फर्किएका मेस्सीलाई आराम दिन उनलाई टोलीबाट बाहिर राखिएको स्कालोनीको भनाई छ।

“स्पष्ट रूपमा हामी मेस्सीलाई टोलीमा चाहन्छौं। तर उनलाई कोरोना भाइरसको संक्रमणले अलि बढी नै कम्जोर बनाएको रहेछ। उनी निको हुनु र फिट हुनु महत्वपूर्ण हुन्छ।”,स्कालोनीले भने।

स्कालोनीले मेस्सीसँग कुराकानी गरेपछि नै उनलाई अर्जेन्टिनाको टोली बाहिर राख्ने निर्णयमा आफू पुगेको बताए। मेस्सीका लागि क्लबमा रहनु नै उचित हुने देखेर आफूले त्यस्तो निर्णय गरेको उनको भनाई छ। उनले भने,”मेस्सी हाम्रा लागि धेरै महत्वपूर्ण छ। उनी ठीक हुनु पर्छ। त्यसैले मैले उनलाई क्लबमा नै रहन दिने निर्णय गरें।”

गत डिसेम्बरको अन्तिममा मेस्सीलाई कोरोना भाइरसको संक्रमण भएको थियो। त्यसपछि उनी केहि दिन अर्जेन्टिनामै अड्किएका थिए। कोरोना नेगेटिभ आएपछि फ्रान्स फर्किएपनि मेस्सीलाई पूर्ण रुपमा ठीक हुन समय लाग्यो।

प्रकाशित : बिहिबार, माघ १३, २०७८१०:१४

पिएसजी समर्थकहरुका लागि खुशीको खबर, प्रशिक्षणमा फर्किए नेयमार !