एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा बराबरी खेलेको छ । ब्राजिलले घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो ।
क्वेटो इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।
खेलको छैटौं मिनेटमा नै कप्तान क्यासमिरोको गोलबाट पाहुना टोली ब्राजिलले सुरुवाती अग्रता लिन सफल भएको थियो । फिलिपे कौटिन्होको कर्नरमा राफिन्हाको हेडरलाई गोलरक्षक एलेक्सान्डर डोमिनग्वेजले पञ्च गरे । उक्त बलमा म्याथिहस कुन्हाको हेडरलाई पुनः ब्लक गरेपनि रिवाउन्डमा क्यासमिरोले क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए ।
तर, त्यो अग्रतालाई ब्राजिलले जोगाउन सकेन । १५औं मिनेटमा इक्वेडर १० खेलाडीमा समेटिन पुग्यो । म्याथिअस कुन्हामाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै गोलरक्षक एलेक्सान्डर डोमिनग्वेजलाई सिधै रातो कार्ड दिँदै मैदान बाहिर पठाएको थियो ।
२०औं मिनेटमा ब्राजिल पनि १० खेलाडीमा समेटिन पुग्यो । इमर्सन रोयल दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेका थिए । दुवै टोली १० खेलाडीमा समेटिएर खेल्दा ब्राजिलले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि दोस्रो हाफमा गोल खान पुग्यो ।
७५औं मिनेटमा फेलिक्स टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । गोन्जालो प्लाटाको कर्नरमा सेन्टर ब्याक टोरेसको शक्तिशाली हेडले बटम राइट कर्नरमा सिधै जाली चुम्दा ब्राजिली गोलरक्षक एलिसनले रोक्ने कुनै अवसर नै पाएनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
इन्ज्युरी समयमा भिएआरको सहायतामा रेफ्रीले ब्राजिली गोलरक्षक एलिसन बेकरलाई दोहोरो पहेंलो कार्डसहित रातो कार्ड देखाएपनि भिएआरले आफ्नो निर्णय सच्याउँदा एलिसन रातो कार्डबाट जोगिए ।
यो बराबरीसँगै शीर्षस्थानमा रहँदै विश्वकपमा स्थान बनाइसकेको ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको छ । ब्राजिलले १४ खेल खेल्दा ११ जित र ३ बराबरीको नतिजा निकालेर ३६ अंक जोडेको छ । छनोटमा ब्राजिलले कोलम्विया र अर्जेन्टिनासँग बराबरी खेलेको थियो । इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

