मेस्सीको अनुपस्थितिमा चम्किए डि मारिया र मार्टिनेज, अर्जेन्टिनाको जित !

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई पराजित गरेको छ । अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा एन्जल डि मारिया र लाउटारो मार्टिनेजले गोल गरे । घरेलु टोलीका विन वेरेन्टेनले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

कालमा चिलीमा शुक्रबार बिहान भएको खेलको १०औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगो डि पउलको पासमा गोल गर्न सफल भएका थिए । २१औं मिनेटमा बेन बेरेन्टेनले बराबरी गोल फर्काए । उनले मार्सेलिनो नुनेजको पासमा गोल गर्न सफल भएका थिए ।

३४औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–१ ले अघि बढाए । दोस्रो हाफमा घरेलु टोली चिलीले अर्जेन्टिनामाथि दवाव सिर्जना गरेपनि पाहुना टोलीले आफ्नो अग्रता जोगाउँदै विश्वकप छनोटमा नवौं जित निकाल्न सफल भयो ।

जितसँगै दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १४ खेलबाट ३२ अंक पुगेको छ । अर्जेन्टिनाले कतार विश्वकपमा स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनासँगको हारले चिलीको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।

चिली १५ खेलबाट १६ अंक जोडेर सातौं स्थानमा रहेको छ । टोली शीर्ष चारको उरुग्वेभन्दा ३ अंकले तथा प्ले अफ अर्थात पाँचौ स्थानको कोलम्वियासँग १ अंकले पछि छ । अब चिलीले छनोटको बाँकी खेलमा जित निकालेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

यस्तै दक्षिण अमेरिकी छनोटकै खर्काे खेलमा उरुग्वेले घरेलु टोली पाराग्वेलाई १–० ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । उरुग्वेको जितमा लुइस सुआरेजले ५०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै उरुग्वे १५ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित : शुक्रबार, माघ १४, २०७८०९:४४

चिली विरुद्ध डी मारियाको यो उत्कृष्ट गोल, हेर्नुहोस् भिडियोमा !