एजेन्सी – भेट्रान फरवार्ड लुइस सुआरेजको निर्णायक गोलमा उरुग्वेले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा महत्वपुर्ण जित निकालेको छ ।
उरुग्वेले घरेलु टोली पाराग्वेलाई १–० ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको हो । पाराग्वेमा शुक्रबार बिहान भएको खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका लुइस सुआरेजले दोस्रो हाफमा गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलको ५०औं मिनेटमा सुआरेजले गोल गरेका थिए । उनले डिएगो गोडिनको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा उरुग्वे विजयी हुन सफल भयो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा घरेलु टोली पाराग्वे १० खेलाडीमा समेटिन पुग्यो । गुस्ताभो गोमेज दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
यो जितले चौथो स्थानमा उक्लिएको उरुग्वेको १५ खेलबाट १९ अंक पुगेको छ । पराजित पाराग्वे १५ खेलबाटै १३ अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै विश्वकप छनोटकै अर्काे खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिदा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको छ ।

