एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा स्टार पेड्रीले लियोनेल मेस्सीलाई धन्यवाद दिएका छन्। जीक्यू स्पोर्ट्सका लागि मार्कासँग कुराकानी गर्नेक्रममा पेड्रीले मेस्सीलाई धन्यवाद दिएका हुन्।
सो कुराकानीका क्रममा पेड्रीले मेस्सीबाट मैदानमा र मैदान बाहिर सहयोग मिलेको बताए। मेस्सीसँग खेल्न धेरै नै सहज भएको पेड्रीको अनुभव छ। मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुनुको कारण रहेको बताउँदै उनको बहिर्गमनले बार्सिलोनालाई धेरै समस्यामा पारेको पनि पेड्रीले बताए।
“म मैदानमा र व्यक्तिगत रूपमा मलाई धेरै मद्दत गरेकोमा लियोलाई धेरै-धेरै धन्यवाद दिन्छु। उनीसँग खेल्न धेरै सजिलो थियो। लियो विश्वकै उत्कृष्ट खेलाडी हुन्। भन्नुपर्दा उनको बहिर्गमनले हामीलाई धेरै नै समस्या पर्यो।”,पेड्रीले भने।
त्यसो भनिरहँदा मेस्सीको बहिर्गमन पछि कम्जोर भएको बार्सिलोना उत्कृष्ट टोली बन्नेक्रममा रहेको बताउन पनि छुटाएनन्। युवा खेलाडीको उल्लेख्य उपस्थितिले बार्सिलोना अगाडी बढ्ने पेड्रीको विश्वास छ।
उनले भने,”तर इमानदारीपूर्वक भन्नुपर्दा, हामी धेरै युवा खेलाडीहरु सहित एक उत्कृष्ट टोली बनाउँदैछौं। हामी सबैसँग एक कदम अगाडि बढ्ने अवसर छ।”
मेस्सीको बहिर्गमनको असर
लियोनेल मेस्सीले छाडेपछि बार्सिलोना धेरै नै कठिन अवस्थाबाट गुज्रिरहेको छ। बार्सिलोनामा एक अब्बल गोलकर्ताको अभाव खड्किएको छ। मेस्सी गएपछि बार्सिलोना च्याम्पियन्स लिग मात्र नभई अन्य कप प्रतियोगिताबाट समेत बाहिरिसकेको छ। त्यस्तै बार्सिलोना लालिगामा पनि शिर्ष चारमा पर्न सकिरहेको छैन।

