एजेन्सी – पल पोग्वाको भविष्य म्यानचेस्टर युनाइटेडमा अझै अनिश्चित छ। यस सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेको भएपनि पोग्बाको सम्झौता थप नहुँदा उनको भविष्य अनिश्चित भएको हो।
सन् २०१६ मा युनाइटेड आएका पोग्बाको सन् २०२२ मा सझौता सकिँदैछ। पोग्बा आउने केहि महिनामै सित्तैमा अथवा फ्री ट्रान्सफरमा अन्यत्र जान पाउनेछन्। युनाइटेडले पोग्बासँग विभिन्न चरणमा छलफल पनि गरिसकेको छ।
युनाइटेडको तर्फबाट भएका प्रस्तावहरुमा पोग्बा सहमत हुन सकिरहेका छैनन्। जसकारण पोग्बाले सम्झौता थप गर्न मानिरहेका छैनन्। पोग्बा यहि ट्रान्सफर विन्डोमा अन्यत्र जान सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन।
युनाइटेडमा रहन पोग्बाको एउटै शर्त
शनिबार बाहिरिएको एक खबरका अनुसार युनाइटेडमा रहन पोग्बाको मात्रै एउटा शर्त छ। उनी राल्फ रङ्गनिकलाई अन्तरिम भन्दा पनि दिर्घकालिन प्रशिक्षकको रुपमा चाहन्छन्। युनाइटेडले राल्फ रङ्गनिकलाई दिर्घकालिन प्रशिक्षक बनाएको खण्डमा पोग्बा युनाइटेडमै रहन सक्ने बेलायती मिडियाहरुको दावी छ।
पोग्बा हालको अवस्थामा घाइते छन्। ह्यामस्ट्रिङमा चोट लागेपछि उनी गत अक्टोबर देखि युनाइटेडको टोली बाहिर रहेका छन्। उनी अहिले सम्म रङ्गनिकको रोजाईमा पर्न सकेका छैनन्।
पिएसजी र युभेन्टसको चासो
सम्झौता थप नभएको खण्डमा पोग्बा यस सिजनको अन्त्यसँगै फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। त्यस्तोमा धेरै क्लबले उनलाई भित्र्याउने प्रयास गर्नेछन्। हालको अवस्थामा पोग्बालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) र इटालियन क्लब युभेन्टसले भित्र्याउन चाहेका छन्।

