एजेन्सी – प्रिमियर लिगका क्लबहरूले एक पटक पुनः ट्रान्सफर विन्डोमा रवाफ देखाएका छन्। सन् २०२२ को पहिलो ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लबहरुले वित्तीय शक्ति प्रदर्शन गरे।
जनवरी ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लबहरुले ३ सय मिलियन युरो भन्दा बढी खर्च गरे। प्रिमियर लिग क्लबहरुले कोरोना भाइरस संक्रमणको महामारी पश्चात पहिलो पटक जनवरी ट्रान्सफर विन्डोमा यति धेरै खर्च गरेका हुन्। सन् २०१८ को जनवरी ट्रान्सफर विन्डो पछिकै बढी खर्च प्रिमियर लिग क्लबहरुले गरेको बताइएको छ।
बेलायती पत्रिका डेली मेलले गरेको दावी अनुसार यस वर्षको जनवरी ट्रान्सफर विन्डोमा खर्च भएको रकम सन् २०२१ को जनवरी ट्रान्सफर विन्डो भन्दा झन्डै ४ गुणा बढी हो। गत वर्ष प्रिमियर लिग क्लबहरुले जनवरी ट्रान्सफर विन्डोमा ७० मिलियन युरो मात्र खर्च गरेका थिए।
जनवरी ट्रान्सफर विन्डोमा २ सय मिलियन युरो भन्दा बढी खर्च भएको यो पाँचौ पटक मात्र हो। सन् २०१८ मा प्रिमियर लिग क्लबहरुले अहिले सम्मकै बढी ४ सय ३० मिलियन खर्च गरेका थिए।
जनवरी ट्रान्सफर विन्डोका सबै भन्दा महँगा खेलाडी लुइस डियाज र ब्रुनो गुइमारेस रहे। पोर्टोका डियाजलाई भित्र्याउन ३७ मिलियन युरो भन्दा बढी खर्च गर्यो। डियाजको ट्रान्सफर खर्च ४९ युरो सम्म पुगेको बताइन्छ। लिभरपुलले पोर्टोलाई १२ मिलियन युरो भन्दा बढी थप रकम दिनु पर्ने सम्झौता भएको बेलायती मिडियाहरु बताउँछन्।
त्यस्तै साउदी लगानी भित्र्याएको न्यूक्यासल ब्रुनो गुइमारेसका लागि ४० मिलियन युरो सम्म खर्च गर्न तयार भयो। गुइमारेसको ट्रान्सफरका लागि क्यासलले ३३ दश्मलभ ३ मिलियन युरो तिरेको र साढे ६ मिलियन युरो थप तिर्ने सहमति लियोनसँग गरेको छ।
सबै भन्दा बढी खर्च कसले गर्यो ?
जनवरी ट्रान्सफर विन्डोमा सबैले अनुमान गरे जस्तै न्यूक्यासलले सबै भन्दा बढी खर्च गर्यो। न्यूक्यासलले गुइमारेसका अलावा केइरन ट्रिपियर, क्रिस वुड, ड्यान बर्न र र म्याट टार्गेटलाई भित्र्याउन १ सय मिलियन युरो भन्दा बढी खर्च गर्यो। खर्चको मामलामा एभर्टन दोस्रो स्थानमा रह्यो। एभर्टनले ६० मिलियन युरो खर्च गर्दा लिभरपुलले ४९ मिलियन युरो खर्च गर्यो।

