एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्तर किलियन एम्बाप्पे र स्पेनिस क्लब रियल म्याड्रिड बीच सम्झौता भइसकेको चर्चा शुरु भएको छ। यस सिजनको अन्त्यमा पिएसजीसँगको सम्झौता सकिँदै गरेको अवस्थामा एम्बाप्पे र रियल बीच अग्रिम सम्झौता भइसकेको चर्चा शुरु भएको हो।
यहि वर्षको जुनमा एम्बाप्पेको सम्झौता सकिँदै छ। त्यस्तोमा उनी जनवरी लागेसँगै विश्वका जुन सुकै क्लबसँग अग्रिम सम्झौता गर्नको लागि खुला भैसकेका छन्। यस्तोमा उनले रियल म्याड्रिडसँग अग्रिम सम्झौता गरिसकेको दावी विभिन्न संचार माध्यमहरुले गरिरहेका छन्।
रियलले यस सिजन शुरु हुनु भन्दा अगाडी नै एम्बाप्पेलाई भित्र्याउने प्रयास गरेको थियो। त्यसबेला रियल एम्बाप्पेका लागि २ सय मिलियन युरो सम्म तिर्न तयार भएको थियो। तर पिएसजीले रियलको प्रस्तावलाई ठाडै अस्विकार गरेको थियो।
त्यसपछि पिएसजीले लगातार एम्बाप्पेलाई सम्झौता थप गराउने प्रयास गर्यो। जुन सफल हुन सकेन। अब एम्बाप्पे आउने जुनमा निशुल्क रियल जान पाउनेछन्।
रियलमा एम्बाप्पेले कति कमाउलान् ?
जर्मन मिडिया विल्डले गरेको दावी अनुसार रियलमा एम्बाप्पेले अहिले सम्म कुनै पनि फुटबल खेलाडीले नपाएको पारिश्रमिक पाउनेछन्। एम्बाप्पेले प्रति वर्ष ५० मिलियन युरो पारिश्रमिक पाउनेगरी सहमति भइसकेको विल्डको दावी छ।
त्यस्तै मार्काले पनि एम्बाप्पे र रियल बीच भएको सम्झौता तत्काल सार्वजनिक नहुने दावी गरिरहेको छ। स्पेनिस मिडिया मार्काका अनुसार एम्बाप्पे र रियल बीचको सम्झौता च्याम्पियन्स लिगमा पिएसजी र रियल बीचको खेल भएपछि मात्रै सार्वजनिक हुनेछ।

