एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले एक पटक पुनः किलियन एम्बाप्पे भन्दा ओस्मान डेम्बेले उत्कृष्ट रहेको दावी गरेका छन्। एक अन्तर्वार्ताका क्रममा लापोर्टाले एम्बाप्पे भन्दा डेम्बेले उत्कृष्ट रहेको भनाईलाई दोहोर्याएका हुन्।
यस भन्दा अगाडी पनि लापोर्टाले डेम्बेले एम्बाप्पे भन्दा उत्कृष्ट खेलाडी रहेको बताएका थिए। त्यसबेला सामाजिक संजाल देखि मिडियासम्ममा लापोर्टाको राम्रै मजाक बनाइएको थियो।
जनवरी ट्रान्सफर विन्डो बन्द भइसकेको अवस्थामा लापोर्टाले डेम्बेले एमबाप्पे भन्दा राम्रो छन् भन्ने आफूलाई अहिले पनि लाग्ने गरेको बताए। डेम्बेलेको प्रतिभाल लिएर आफूहरु विश्वस्त रहेको लापोर्टाको भनाई छ।
“मलाई अझै लाग्छ कि डेम्बेले एमबाप्पे भन्दा राम्रो छन्। मलाई यो भनेकोमा पछुतो छैन किनभने हामी उनको प्रतिभामा विश्वस्त छौं।”,डेम्बेले बारे लापोर्टाले भने।
डेम्बेले बेच्ने प्रयास असफल
लामो समय देखि डेम्बेलेको सम्झौता थप गर्न बार्सिलोनाले गरिरहेको प्रयास अन्ततः सफल भएको छ। बार्सिलोनाको तर्फबाट भएका कुनै पनि प्रस्तावमा डेम्बेले सहमत हुन सकेनन्। सम्झौता थप नहुने भएसँगै बार्सिलोनाले डेम्बेलेलाई जनवरी ट्रान्सफर विन्डोमा बिक्री गर्ने प्रयास पनि गर्यो।
डेम्बेलेलाई लिएर धेरै क्लबहरुले चासो पनि लिए। तर डेम्बेलेले कुनै पनि क्लबमा जान चाहेनन्।
अब डेम्बेले सित्तैमा बार्सिलोनाबाट बाहिरिने भएका छन्। डेम्बेले सित्तैमा बार्सिलोनाबाट बाहिरिने भएसँगै बार्सिलोनालै आर्थिक रुपमा नराम्रो घाटा लाग्ने भएको छ। बार्सिलोनाले सन् २०१७ मा बोरुसिया डर्टमन्डबाट डेम्बेलेलाई उच्च रकम तिरेर भित्र्याएको थियो।
त्यसबेला डेम्बेलेका लागि बार्सिलोनाको १ सय ३५ मिलियन युरो खर्च भएको थियो। भन्ने नै हो भने त्यत्रो रकम तिरेर ल्याएको डेम्बेले बार्सिलोनालाई खासै काम नै लागेनन्। चोटका कारण डेम्बेलेले बार्सिलोनाका लागि अपेक्षा गरिएजस्तो खेल्न नै सकेनन्।

