डुक र पल्सरमा हुँइकिरहेका थिए यी दुई, पक्राउ परेपछि खुल्यो सबै असलियत!

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने दुईलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चावहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१८ का समिर तामाङ रहेका छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बरप्लेट परिवर्तन गरेर नयाँ नम्बर प्लेट हालेर सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

उनका अनुसार गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश–०२–०२५ प १३१८ नम्बर हालेको २२० सी.सी.को पल्सर बरामद गरिएको हो । अनुसन्धानपश्चात उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश–०२–०२९ प ५२०९ भएको खुल्न आएको महाशाखाले जनाएको छ ।

ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्बरको सेतो रङको डुक मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९९ प ४८८२ भएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवैलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त क्रमशः ठिमी र सिंहदरबार पठाइएको महाशाखा प्रमुख जोशीले बताए।

प्रकाशित : बिहिबार, माघ २०, २०७८२०:०८

मौसममा बदलि: मेघगर्जन-चट्याङ सहित कतै असिना, कतै पानी, कतै हिउँ पर्ने !