काठमाडौं । नेपालमा उत्पादन हुने तोरि र भटमासको तेल जीएमओ (जेनेटिकल्ली मोडिफाई वीउ) प्रविधिमा आधारित कच्चा पदार्थबाट उत्पादन भइरहेको पाइएको छ । त्यतिमात्र होइन, कुखुरा हुर्काउन खुवाइने दानामा समेत जीएमओ प्रविधिमा आधारित मकै र भटमास प्रयोग गरिएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
कुखुराको दाना उत्पादन गर्ने उद्योगीले ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थ अन्तर्राष्ट्रिय मुलुकबाटै आयात गर्छ । नेपालमा तोरीको तेल र भटमासको तेल उत्पादन गर्दै आएका उद्योगसहित कुखुराको दाना उत्पादन गर्ने उद्योगहरुले पनि खुलेआम जीएमओ प्रविधिमा आधारित कच्चा पदार्थ आयात गरी खानेतेल र कुखुराको दाना उत्पादन गर्दैआएका छन् । त्यो पनि सरकारकै सहमतिमा ।
प्रभावशाली उद्योगी, जीएमओ प्रविधिमा आधारित कृषि उपज निर्यातकर्ता र एमसीसीको पक्षधरको प्रभावमा खुलेआम रुपमा भित्रिदैं आएको यस्ता उपजलाई बैद्यता प्रदान गरि सरकारले बाटो खुलाइदिएको हो । नेपालीको भान्छामा पाक्ने सबै प्रकारका खाद्यान्नमा यहि तेल प्रयोग हुँदै आएको छ । सोझो अर्थमा भन्ने हो भने प्रत्येक नेपालीले जीएमओ प्रविधिमा आधारित कच्चा पदार्थबाट उत्पादन भएका उपभोग्य बस्तु सेवन गर्दैआएका छन् ।
नार्क मातहतको वीउ विज्ञान प्रविधि महाशाखाका पूर्वप्रमुख डा. ज्वाला वज्राचार्यका अनुसार मोनसान्टोको हाइव्रीड तथा जेनेटिकल्ली मोडिफाई वीउ (जीएमओ) ले स्थानीय जातका बीउ विरुवा मास्न ठूलो भूमिका खेल्ने गर्छ ।
उनका अनुसार, हाईव्रीड र जेनिटिकली मोडिफाइड अर्गानिज्म (जीएमओ) बीच फरक छ । जेनिटिकली मोडिफिकेसन भनेको जीवको डिएनए (जीन) कणहरू निकाल्नु हो । यसरी नयाँ जीन हालेर वा दुई भिन्न प्रकारका जीवको डिएनए जोडेर नयाँ प्रकारको जीव विकास गर्नुलाई जेनेटिकली मोडिफिकेशन भनिन्छ ।
यस्ता कण एउटै जीव वा दुई थरी जीवका हुन सक्छन् । हाइव्रीडसँगै जेनेटिकली मोडिफाइड अर्गानिज्म वीउ भित्रिएमा विभिन्न प्रकारका रोग भित्रिने खतरासमेत रहेको वताउँदै बिज्ञ बज्राचार्यले भनिन, ‘सरोकारवालाले चिन्ता गर्नु अस्वभाविक हैन । उत्पादन बढाउनुपर्छ तर, राष्ट्रिय आवश्यकता र नीति के हुने भन्नेमा राज्यको ध्यान चाहिन्छ ।’
२०७७ साल माघ १४ गते तात्कालिन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेपाल एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएका थिए । आयात–निर्यातसँग सम्बन्धित ४३ निकायबाट उपलब्ध हुँदै आएको सेवालाई एकद्वार प्रणालीबाट उपलब्ध गराउन यो प्रणाली सरकारले कार्यान्वयनमा ल्याएको थियो ।
आयात तथा निर्यात व्यापारलाई सजिलो, सरल, कम झन्झटिलो बनाएर लागत घटाउन यो प्रणाली कार्यान्वनयमा ल्याएको भन्सार विभागले जनाएको थियो । गत भदौंमा भन्सार विभागले भटमासलगायतको विभिन्न उत्पादनका लागि आयात अनुमति गर्ने व्यवस्था परिवर्तन गरेको थियो ।
यसअघि भटमास, तोरी, मकैलगायतको आयात गर्न आवश्यक पर्ने अनुमति कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दिदैं आएको थियो । नेपाल एकद्वार प्रणाली कार्यान्वनयमा आएपछि यस्ता वस्तुको आयात गर्न आवश्यक पर्ने अनुमति दिने जिम्मेबारी कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रलार्ई सुम्पिइयो ।
कुखुराको दाना उत्पादन गर्ने उद्योगीले ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थ अन्तर्राष्ट्रिय मुलुकबाटै आयात गर्छ । नेपालमा तोरीको तेल र भटमासको तेल उत्पादन गर्दै आएका उद्योगसहित कुखुराको दाना उत्पादन गर्ने उद्योगहरुले पनि खुलेआम जीएमओ प्रविधिमा आधारित कच्चा पदार्थ आयात गरी खानेतेल र कुखुराको दाना उत्पादन गर्दैआएका छन् । त्यो पनि सरकारकै सहमतिमा ।
कृषि बैज्ञानिक भव त्रिपाठीले सरकारले जीएमओ प्रविधिमा आधारित कृषिजन्य कच्चा पदार्थ आयात गर्न दिने निर्णय हतारमा गरेको बताए । पर्याप्त रुपमा अध्ययन गरेर मात्रै हानी नोक्सानीको हिसावको आधारमा सरकारले निर्णय गर्नुपर्ने उनको कथन छ । जनावर र चराको दानाको रुपमा प्रयोग गर्न दिने बिषयमा दिइएको अनुमतिले भविष्यमा ठूलो जोखिम निम्तिन सक्ने उनको भनाई छ ।
‘जीएमओमा आधारित कच्चा पदार्थ जनावरको आहाराका रूपमा प्रयोग गर्न अनुमति दिइएको छ, जनावरको दूध पिउने र कुखुराको मासु मानिसले खाने हुनाले यसले पार्ने स्वास्थ्य समस्याप्रति सरकार सचेत नभएको लाग्छ,’ त्रिपाठीले भने, ‘नेपालमा जे जति परिमाणमा तोरी र भटमासको तेल उत्पादन भइरहेका छन र उपभोग भइरहेका छन, ति सबै जीएमओ प्रविधिमा आधारित कच्चा पदार्थबाट निर्माण भएको हो ।’
दाना उद्योग र खाने तेल उत्पादन गर्ने एक उद्योगीका अनुसार नेपालमा चार प्रकारको तेल सोयाबीन, सनफ्लावर, पाम र तोरी तेल प्रशोधन हुँदै आएको छ । यसका लागि अर्जेटिना र ब्राजिलबाट सोयाबीन, युकेबाट सनफ्लावर, इण्डोनेशिया र मलेसियाबाट पाम आयल तथा क्यानाडा, अष्ट्रेलिया, युक्रेन र भारतबाट तोरी आयात हुन्छ । उनका अनुसार नेपालमा वार्षिक चार लाख टन खाने तेल खपत हुन्छ ।
खाने तेल उत्पादन गर्न वार्षिक करिब ८० अर्ब रुपैयाँको यस्ता कच्चा पदार्थ विभिन्न मुलुकबाट आयात हुन्छ । यसैगरी दाना उत्पादन गर्न वार्षिक १० अर्ब रुपैयाँको मकै र २४ अर्ब रुपैयाँको भटमास नेपालमा आयात गरिन्छ । उनका अनुसार यस्ता कच्चा पदार्थ आयात गर्दा कुनै पनि प्रकारको परिक्षण वेगर नेपालमा भित्राउने काम भइरहेको छ ।

