गोलरक्षक नायक बन्दा इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगल र इजिप्ट भिड्ने !

एजेन्सी – गोलरक्षक मोहम्मेद एब्डोउगवल नायक बन्दा इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । इजिप्टले आयोजक क्यामरुनलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इजिप्टका जिजो, मोहम्मेद एब्डेलमोनेम र मोहनाद लासहिनले गोल गरेका क्यामरुनका भिन्सेन्ट एवोउवकारले मात्रै गोल गर्न सके ।

गोलरक्षक मोहम्मेद एब्डोउगवलले क्यामरुनका दोस्रो र तेस्रो पेनाल्टी बचाउँदा चौथो पेनाल्टी बाहिरिएपछि इजिप्टको जित सम्भव भएको थियो । गोलरक्षक मोहम्मेद एब्डोउगवलले हारोल्ड डेस्टी मोउकोउडी र जेम्स लि सिलिकीको पेनाल्टी बचाएका थिए । क्लिन्टन एन’जीले गोल गर्न सकेनन् ।

त्यसअघि ओम्निस्पोर्ट्स पउल विया याओन्डेमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित र अतिरिक्त समयमा गोल गर्न सकेनन् ।

अब अफ्रिका कप अप नेसन्सको सर्वाधिक सफल इजिप्टले उपाधिका लागि सेनेगलको सामना गर्नेछ । फाइनल ६ फेब्रुअरीको राति हुनेछ । सेनेगलले यसअघि बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । अर्थात फाइनल इंग्लिस क्लब लिभरपुलका फरवार्डद्धय साडियो मानेविरुद्ध मोहम्मद सलाहबीच हुने छ ।

सोही दिन तेस्रो स्थानको लागि बुर्किना फासो र क्यामरुनबीच प्रतिस्पर्धा हुने छ । ९ जनवरीदेखि शुरु भएको अफ्रिका कप अफ नेसन्समा २४ टोलीको सहभागिता रहेको थियो ।

इजिप्टले ९ पटक फाइनल खेल्दा सातौंपटक च्याम्पियन बनेको छ । इजिप्ट पछिल्लोपटक २०१७ मा फाइनलमा पुगेपनि क्यामरुनसँगै पराजित हुँदै उपाधि विमुख बनेको थियो । इजिप्ट पछिल्लोपटक सन् २०१० मा घानालाई हराउँदै च्याम्पियन बनेको थियो । त्यसअघि इजिप्ट १९५७, १९५९, १९८६, १९९८, २००६ र २००८ मा च्याम्पियन बनेको थियो ।

इजिप्टले २००६ देखि २०१० सम्म ह्याट्रिक उपाधि जितेको थियो । यता, सेनेगल भने दुई पटक फाइनलमा प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन । सेनेगल २००२ र २०१९ मा फाइनलमा पुगेपनि उपाधि जित्न सकेन ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१०:०६

“लिभरपुललाई इन्टर मिलानले जसरी पनि सुताउनुपर्छ”