एजेन्सी – कुनै पनि फुटबल खेलमा फ्री किकको छुट्टै महत्व हुन्छ। फ्री किकको अवसरलाई सहि सदुपयोग गरेर नतिजालाई उल्ट्याउन फुटबल टोलीहरुले सक्छन्। तर फ्री किकमा गोल गर्न जति सहज देखिन्छ, त्यति सहज भने हुँदैन। सबै खेलाडीहरु फ्री किकमा गोल गर्ने चाहना त राख्छन्, तर सफल भने हुन सक्दैनन्। अहिले यहाँ २१ औं शताब्दीका केहि खेलाडीहरु बारे चर्चा हुँदैछ, जसले क्लब फुटबलमा सबै भन्दा बढी फ्री किक गोल गरेका छन्।
क्रिस्टियानो रोनाल्डो

गएको एक दशक भन्दा लामो समय देखि फुटबल जगतमा राज गरिरहेका रोनाल्डो फ्री किकमा धेरै भन्दा धेरै गोल गर्ने क्षमता राख्छन्। रोनाल्डो प्रशिक्षणका क्रममा दैनिक जस्तो फ्री किकको लागि अभ्यास गर्छन्। रोनाल्डोले आफ्नो करियरमा विभिन्न फुटबल क्लबका लागि ४७ पटक फ्री किक गोल गरेका छन्।
लियोनेल मेस्सी

रोनाल्डो जस्तै मेस्सी पनि गएको एक दशक भन्दा लामो समय देखि फुटबल जगतमा शिर्ष प्रदर्शन गरिरहेका छन्। मेस्सी पनि रोनाल्डो जस्तै प्रशिक्षणका क्रममा फ्री किकका लागि अभ्यास गर्छन्। र सो अभ्यासका कारण मेस्सीले अहिलेसम्म क्लब स्तरीय प्रतियोगिताहरुमा ५० फ्री किक गोल गरिसकेका छन्।
रोनाल्डिन्हो

रोनाल्डिन्हो अहिले सक्रिय फुटबल देखि टाढा रहेपनि उनी सबैले मन पराउने फुटबल खेलाडीमा पर्छन्। रोनाल्डिन्होको सुन्दर फुटबल कलाको अहिले पनि चर्चा हुने गर्छ। रोनाल्डिन्हो फ्री किकको मामलामा पनि उत्कृष्ट थिए। रोनाल्डिन्होले आफ्नो फुटबल करियरमा मेस्सी र रोनाल्डो भन्दा बढी फ्री किक क्लब गोल गरेका छन्। तथ्यांकका अनुसार विभिन्न क्लबका लागि उनले ५५ फ्री किक गोल गरेका छन्।
रोजेरियो सेनी

यो सूचीमा रोजेरियो सेनीको नाम देख्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर क्लब फ्री किकको मामलामा रोजेरियो सेनी मेस्सी, रोनाल्डो र रोनाल्डिन्हो भन्दा पनि अगाडी छन्। एक गोलकिपर भएर पनि रोजेरियो उत्कृष्ट फ्री किक गोल गर्न सक्थे। ब्राजिलबाट बाहिरका क्लबबाट कहिले पनि नखेलेका उनले करियरमा ५९ फ्री किक गोल गरेका थिए।
जुनिन्हो पर्नामबुकानो

जुनिन्हो फ्री किकको मामलामा निर्विवाद राजा हुन्। क्लब फुटबलमा जुनिन्होको जति सायदै कुनै पनि खेलाडीले फ्री किक गोल गर्न सक्लान्। रोनाल्डो जस्ता खेलाडी जुनिन्होकै फ्री किक टेक्निक प्रयोग गर्छन्। उनले सन् २००१ देखि २००९ सम्म लियोनबाट फुटबल खेलेका थिए। जुनिन्होले क्लब फुटबल करियरमा कुल ७४ गोल गरे।

