कहिले देखि सुध्रिएला मौसम ? यस्तो छ पछिल्लो अपडेट !

काठमाडौँ – अहिले देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। जसकारण देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम शुक्रबार राति पनि जारी रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा पानी पर्न सक्ने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ।

प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ।

त्यस्तै शनिबार रातिबाट भने मौसम केहि सफा हुँदै जानेछ। शनिबार राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने आइतबार पनि मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८२०:१४

फागुन १ गते देखि सञ्चालन होलान् शिक्षालय ?